६ आश्विन २०८१, आइतबार 1726993154
Banner

मुलुकको समृद्धिको यात्रामा सबै क्षेत्रको सहयोग र सहकार्य हुनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको समृद्धिको यात्रामा राज्यको प्रयासमा सङ्घसंस्था एवं निजी क्षेत्रको पनि साझा प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वन ले आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले ठूलो राजनीतिक परिवर्तनपछि नेपाल समृद्धिको यात्रामा अगाडी बढिरहेकाले मुलुकको यस यात्रामा सबै क्षेत्रको सहयोग र सहकार्य हुनुपर्ने बताउनुभयो ।

विभिन्न समयहरूमा लायन्स क्लब ईन्टरनेशनल जस्ता सङ्घ संस्थाको भूमिका निकै प्रभावकारी देखिएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले मुलुकको कृषि र उद्योगको विकासबाट रोजगारी सृजना गर्ने गरी अगाडी बढ्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा लायन्स क्लब अफ इन्टरनेसनलले आज आयोजना गरेको अभिनन्दन तथा सम्मान कार्यक्रममा उहाँले क्लबले नेपालको अस्पताल, विद्यालय र बालगृह सञ्चालनमा पु¥याएको योगदानको चर्चा गर्नुभयो । ‘नेपालमा लायन्स क्लबले अस्पताल, विद्यालय, क बालगृहलगायत सञ्चालन गरिरहेको छ’, राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘यस्ता परियोजना सञ्चालन गर्दा न्यून प्रशासनिक खर्च लाग्ने गरेको सुन्दा खुशी लाग्यो ।’

कृषिमा व्यवसायीकरण र आधुनिकीकरण गर्न राज्यले ध्यान दिइरहेको र देशलाई रोजगार तथा आत्मनिर्भर बनाउन सामाजिक संस्थाको ठूलो भूमिका उहाँले उल्लेख गर्नुभयो ।    

राष्ट्रपति भण्डारीले भूकम्प, बाढीपहिराजस्ता समस्याले वर्षाको समयमा ठूलो धनजनको क्षति पु¥याउने गरेको हुँदा राज्यका साथसाथै सामाजिक संस्थाले पनि प्रकोप न्यूनीकरणमा सहयोग गर्नुपर्ने बताउनुभयो । उक्त समारोहमा क्लबले राष्ट्रपति भण्डारीलाई अभिनन्दन गरेको थियो ।

कार्यक्रममा लायन्स क्लबले नेपालमा गरेको कामको विषयमा वृत्तचित्र समेत प्रस्तुत गरेको थियो । वृत्तचित्रमा आखाँ अस्पताल निर्माण, भूकम्पपछि १८ सामुदायिक विद्यालय निर्माण गरेर समुदायमा हस्तान्तरण तथा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी बल्ड बैंक स्थापना गर्ने तयारी भइरहेको जस्ता विषय समेटिएका थिए । सो अवसरमा क्लबका संस्थापक मूलचन्द राठी र किसनलाल दुगडलाई सम्मान गरिएको थियो ।  

यस्तै प्रजातन्त्र ल्याउन १०० तोला सुन दिएर सहयोग गर्नुभएकी इन्दुदेवी नौखलाई पनि सो अवसरमा राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा समाजसेवीत्रय नन्दकिशोर राठी, मुकुन्दराज पाण्डे र शेषनारायण श्रेष्ठलाई राष्ट्रपति भण्डारीले सम्मान गर्नुभएको थियो । क्लबका अध्यक्ष रेवतबहादुर कार्कीले नेपालमा शिक्षा, स्वास्थ्य र प्राकृतिक प्रकोपको क्षेत्रमा सक्दो सेवा गर्ने प्रयास गरिरहेको र आगामी दिनमा पनि प्रयास जारी रहने बताउनुभयो ।

नेपालमा पहिलो पटक सन् १९७१ मा लायन्स क्लब अफ विराटनगरका नाममा पूर्वप्रधानमन्त्री स्व मात्रिकाप्रसाद कोइरालाको नेतृत्वमा स्थापना भएको थियो । अहिले नेपालमा करिब दुई हजार क्लब स्थापना भइसकेका छन् । लायन्स क्लबको मुख्य उद्देश्य समाज सेवा गर्ने हो । क्लबले खासगरी शिक्षा, स्वास्थ्य र प्राकृतिक विपद्को समयमा सहयोग गर्दै आएको छ ।