देश आर्थिक मन्दीमा छ, यस्तो अवस्थामा संघदेखि प्रदेश सरकारहरू चुनावमुखी वितरणमा केन्द्रीत बजेट ल्याएर अर्थ व्यवस्था थप संकटमा पार्न उद्दत देखिएका छन्। संघ र प्रदेशका सरकारलाई पछ्याउँदै भर्खरै निर्वाचित स्थानीय सरकारहरू पनि समय, क्षमता र आवश्यकतालाई ख्यालै नगरी छिटो लोकप्रिय हुने नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछन्।
न राजनीतिक नेतृत्वमा देशको पक्षमा चिन्ता देखियो न त त्यो नेतृत्वले देशको स्वार्थमा चिन्तन नै गरेको भेटियो। बरू बढी लोकप्रिय देखिन असान्दर्भिक नीति तथा कार्यक्रम र बजेट ल्याइयो। स्थानीय सरकारलाई त यो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बाहेक अरू चारवटा नीति तथा कार्यक्रम र बजेट ल्याउने अवसर थियो, त्यतातिर ध्यान नै दिइएन। तर यसलाई ति सरकारहरूले आफूहरूले राम्रो काम गरिरहेको भन्ने ढंगले व्याख्या गर्न खोजिरहेका छन्।
हाम्रो मनोविज्ञान पनि अचम्मको छ, समस्या एकातिर समाधान अर्कातिर खोजेर समय र सामर्थ्य खेर फालिरहने खालको छ। जस्तैः समस्या देशको शैक्षिक, आर्थिक, प्रशासनिक र न्यायिक प्रणालीमा छ तर हामीभने राजनैतिक तथा संवैधानिक व्यवस्थामा समस्या देखिरहेका छौं। अनि सोहीअनुसार राजनीति गर्न कहिले स्वतन्त्रको अभियान चलाउन खोज्दैछौं भने कहिले नयाँ दल बनाउन रमाइरहेका छौं।
राजनीतिक दर्शन, सिद्धान्त, विचार, कार्यक्रम, संगठन र संघर्षको पाटोलाई बिर्सिएर हिजोआज भाईरल हुने तरिकाले केही मान्छेहरू राजनीतिमा प्रवेश गर्दैछन्। उनीहरूले जनतामा देखिएका वितृष्णा र असन्तुष्टीको जगमा नयाँ राजनीतिक धरातल बनाउन खोजेको देखिन्छ। जबकी जनतामा देखिएका वितृष्णा र असन्तुष्टीहरू सकिएको वा फेरिएको दिन ति दलहरूको उपादेयता पनि सकिनेछ भन्ने कुराको कुनै हेक्का गरिएको छैन्। फेरि उनीहरूले वर्तमान राजनीतिक तथा संवैधानिक व्यवस्थाप्रतिको आफ्नो दृष्टिकोण सार्वजनिक गर्न पनि सकिरहेका छैनन्।
यस्ता राजनीतिक चिन्तन र चरित्रहरूले देशको दिर्घकालीन हितमा नीति ल्याउने, रणनीति र कार्यक्रम बनाउने अनि वार्षिक बजेट ल्याउन क्षमता देखाउन सकेन भन्न डराउनु पर्दैन्। अहिले त झन तत्काल लोकप्रिय देखिन जसरी राजनीति गर्न खोजिदैछ, यसका पछाडिका नियतहरू शंकापूर्ण छन् किनभने जसरी राजनीति गर्न खोजिदैछ, यसले राजनीतिक तथा संवैधानिक व्यवस्था विरोधीहरूको मनोबल बढाउन सघाएको छ। यतिमात्र होइन, यो खालको राजनीतिले नेपालमा विदेशी शक्तिहरूको चलखेल पनि बढाएको छ। तर आमजनता पनि को ठीक को बेठीक छुट्याउन नसकेर भ्रममा परेका छन्। जब जनता नै भ्रममा पर्छन् भने अवसरवादी राजनीतिले प्रश्रय पाउने नै भयो। जनताको यही भ्रममा स्वतन्त्र अभियान समुह र नयाँ पार्टीहरू घोषणा हुन थालेका छन्।
तिर्थ प्रसाईले सामाजिक सञ्जालमा लेख्छन्, “केटाहरू भन्छन, भगवानले न बिल दिनुभो, न प्रमाण, धेरै युवालाई नेता बनाउने द लिडर भन्ने कार्यक्रम गर्छु भनेर पैसो उठाउनु भो, त्यही पैसाले आफैँ लिडर बन्न तम्सनु भो ! त्यसो गर्दा पनि झण्डा चैं ईयु र अमेरिकी स्वतन्त्र पार्टीको कपी हान्नु भो ! पारदर्शिताको इस्युले सुरुदेखि नै पेल्ने भो !” नयाँ पार्टीलाई लिएर व्यङ्ग्यात्मक तरिकाले डा। नवराज लम्साल लेख्छन्, “यत्तिचाहिँ भन्न सक्छु, दुनियाँले देउता मानेका सबै ढुङ्गा देउता हुँदैनन्। पर्ख र हेर !!”
रवी लामिछानेको नयाँ पार्टी “राष्ट्रिय स्वतन्त्र पार्टी” लाई लिएर बिमल पोखरेल लेख्छन्, “सबै भाईरलहरू नारायणगोपाल, बच्छु कैलाश, अरुणा लामा, विष्णु माझी, धर्मराज थापा, जीवन शर्माहरू हुन सक्दैनन्। ठोकेरै भनिदिन्छु, दर्शन, सिद्धान्त, विचार, कार्यक्रम, संगठन र संघर्षविनाका भाईरल पार्टीहरू समाजका भाइरस मात्रै हुन्। तिनले चर्चा बटुल्नेबाहेक केही लछारपाटो लगाउँदैनन्।” लोकतन्त्र र बहुदलीय व्यवस्थामा दलहरू खोलेर राजनीति गर्ने सबैलाई अधिकार छ। आज त्यो अधिकार रवी लामिछानेले उपयोग गर्न खोजेका छन्, हामी सबैले स्वीकार गर्न सक्नुपर्छ।
रवी लामिछाने राजनीतिक दल नै बनाउने भएपछि दलको नाममा स्वतन्त्र शब्द किन दुरूपयोग गरे भन्ने कुरामा प्रश्न उठाउनु अस्वभाविक होइन। किनभने यसले जनमनोविज्ञान भ्रमित बनाउन खोजेको छ। यसको मतलब लोकतान्त्रिक अधिकार उपयोग गरेर गणतन्त्र र दलीय व्यवस्थाका विरूद्ध जनमत बनाउन खोजिएको त छैन् भनेर शंका गर्ने स्थिति बनाएको छ। पार्टी नै बनाएपछि स्वतन्त्र शब्द किन राखेको ? रवीन्द्र मिश्रको पहिलो ईनिङ अपेक्षित रूपमा असफल भएपछि रवी लामिछाने नेतृत्वमा दोस्रो ईनिङ सुरू गर्न त खोजिदै त छैन भनेर प्रश्न उठ्न थालेको छ। फेरि रवी लामिछानले नेतृत्व गर्न खोजेको पार्टीको राजनीतिक दर्शन के हो ? लोकतान्त्रिक गणतन्त्रका बारेमा स्पष्ट भाषामा केही बोलिएको छैन्। यसले पनि रवी लामिछानेमाथि सुरू मै प्रश्न उठाउन सजिलो भएको छ।
रवी लामिछानेको पार्टीको नामलाई लिएर हरीचन्द्र पाण्डे लेख्छन्,
“कुमारी आमा भन्नु र स्वतन्त्र पार्टी भन्नु एउटै हो।
कुमारी भए आमा कसरी ? आमा भए कुमारी कसरी ?
स्वतन्त्र भए पार्टी कसरी ? पार्टी भए स्वतन्त्र कसरी ?”
स्वतन्त्र समुह अभियानले पनि रवी लामिछानेको पार्टीको नामको विरोधमा निर्वाचन आयोगमा निवेदन दिएको छ। पार्टी जन्मन नपाउँदै नेतृत्व र पार्टी विवादको भुमरीमा परेको छ। उनकै दाजु हरिशरण लामिछाने भन्छन्, “रवी लामिछाने कसैबाट संचालित हुनसक्छन्।” यी भनाईहरूले रवी लामिछानेमाथि सुरू मै दलको नाम फेर्नका लागि दबाव बढ्न थालेको संकेत गर्छ।
राजनीतिक नेतृत्वले भोलि के गर्छु भनिरहँदा हिजो मैले के गरेको थिएँ र मेरो व्यक्तिगत तथा पारिवरिक जीवन कस्तो थियो भनेर उत्तर पनि दिनुपर्ने हुन्छ। नैतिक तथा आर्थिक चरित्रमाथि प्रश्न उठ्ने ठाउँ त छैन् भन्ने प्रश्नले पनि राजनीति गर्नेहरूको भविष्य निर्धारण गर्छ। केपी ओलीले अहिले पनि ५० वर्ष अघिको झापा संघर्षमा भएका कमजोरीहरूलाई लिएर उठेका प्रश्नहरूको सामाना गरिरहनु भएको छ। प्रचण्डलाई १७ हजारले अझै पछ्याई रहेको छ। त्यस्तै रवी लामिछानेको विगतको व्यक्तिगत जीवन र नैतिक चरित्रलाई लिएर पनि प्रश्न उठ्न सक्छ। त्यो प्रश्नको उत्तर दिनबाट रवी लामिछाने उम्कन पाउने अवस्था देखिदैन्। किनभने राजनीतिमा नैतिक तथा आर्थिक चरित्र सधैं प्रधान हुने गर्छ।
रवी लामिछानेको आर्थिक चरित्रलाई लिएर निर्मल प्रसाईले सामाजिक सञ्जालमा लेख्छन्, “स्वतन्त्र पार्टी खोल्नु, चुनाव जित्नु, प्रधानमन्त्री बन्नु, शुभकामना छ रवि जी। तर नेता उत्पादन गर्छौं भनेर युवाहरूबाट फर्म भर्दा उठाएको ३ करोड ४ लाख ७१ हजार रुपैयाँ फिर्ता गर्नु, यसरी ठग्नु अपराध हो।”
नागरिकदेखि राजनीतिक नेतृत्वको मनोविज्ञान भ्रमबाट सिर्जित भिंडको आवाजअनुसार धरणा बनाउने र निर्णय गर्ने हुन थालेको छ। यो चिन्तन र व्यवहार लोकतान्त्रिक गणतन्त्रका लागि शुभ संकेत होइन। यसलाई लोकतान्त्रिक गणतन्त्र विरोधीहरूले उपयोग गरेर वंशतन्त्र फर्काउने परिकल्पनासहित रणनीति बनाउने अवसरको रूपमा लिएका छन्। जयन्त खनालको यो भनाईले त्यही सेकेत गरेको छ। उनी लेख्छन्, “राजाहरू बरु जनता सामु झुके, विदेशी सामु झुकेनन्, शिरको श्रीपेच बुझाए तर नेपालीको शिर झुकाएनन् ! विडम्बना नेताहरू विदेशीका सामु झुकेका झुक्यै छन् ! राजसंस्था भएको भए यस्ता एमसीसी र एसपीपी जस्ता राष्ट्रघाती सम्झौता कदापि हुन्थेन ! त्यसैले सार्वभौमसत्ताको निम्ति भएपनि यो खोपीको देउता राखौ भन्या क्या !”
राजनीतिक नेतृत्वले भ्रमित भिंडको पछि लागेर होइन, असल विचार र दर्शनको आधारमा भिंडलाई भ्रमबाट मूक्त बनाएर आफू पछि लगाउन सक्नुपर्छ। मूलधारका पार्टीका नेताहरू पनि भ्रमहरूबाट मूक्त हुन कठीन भइरहेको समयमा रवी लामिछाने यतिखेर भिंडको पछि लागेर नेता बन्ने होडमा देखिएका छन्। उनले नेतृत्व गर्न खोजेको पार्टीको न विचार स्पष्ट छ, न कुनै दर्शन नै। पूराना दलहरूको कमजोरीको विरोध गरेर मात्रै राजनीतिक दलका रूपमा स्थापित गर्न सकिन्न भन्ने कुरा रवीन्द्र मिश्रबाट रवी लामिछानेले सिक्न खोजेको कतै संकेत देखिएन। त्यसैले राजनीति, राजनीतिक नेतृत्व र जनमनोविज्ञानलाई भ्रमबाट मूक्त गर्दै “सम्वृद्ध नेपाल सुखी नेपाली” बनाउने नारा सफल बनाउनै पर्ने जबरजस्त राजनीतिक तथा सामाजिक परिस्थितिको विकास हुन थालेको आभास मिलेको छ।