जनकपुरधाम । सिरहाको मिर्चैयाबाट प्रहरीले १० ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिर्चैया नगरपालिका–६ कटारी चोकबाट बिहीबार राति उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–५ का २७ वर्षीय कृष्णकुमार यादव र कल्याणपुर नगरपालिका–४ का २० वर्षीय सुरेन्द्र यादव रहेका छन् ।
प्रहरी प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालका अनुसार इलाका प्रहरी कार्यालय मिर्चैया र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पालका अनुसार कटारी चोकबाट कटारीतर्फ जाँदै गरेको बा.प्र.०२–००५ प ३७०३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक मोटरसाइकल छाडेर फरार भएका थिए । मोटरसाइकलको पछाडि सवार दुवै जनालाई नियन्त्रणमा लिएर जाँच गर्दा कृष्णकुमार यादवको साथबाट प्लास्टिकसहित १३.०७ ग्राम र प्लास्टिकबाहेक १०.३९ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो।
त्यसैगरी उनीहरूको साथबाट चार हजार रुपैयाँ नगद, दुई थान स्क्रिन टच मोबाइल र एक थान डिजिटल तराजुसमेत बरामद भएको प्रहरीले जनाएको छ । बरामद लागुऔषध, नगद, मोबाइल, डिजिटल तराजु र मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर थप अनुसन्धान भइरहेको छ । फरार मोटरसाइकल चालकको खोजी तथा पहिचान गर्ने कामसमेत भइरहेको प्रहरीले जनाएको छ ।

