२१ कार्तिक २०८३, शनिबार Saturday, 7 November 2026
हामीलाई पछ्याउनुहोस्
२१ कार्तिक २०८३, शनिबार 12:41 pm
समाचार

येशूलाई भेट्न पाइन्छ भन्दै अनुयायीलाई भोकै बस्न लगाउने पास्टरलाई २०० वर्ष कैद

सूचना प्रेस २०८३ कार्तिक २१ शनिबार ००:००, ११:५६ बजे २ मिनेट पढाइ

काठमाडौं : केन्यामा ४०० भन्दा बढी व्यक्तिको मृत्यु प्रकरणसँग जोडिएका धार्मिक अगुवा पल म्याकेन्जीलाई १९१ जनाको हत्यामा दोषी ठहर गर्दै २०० वर्षको जेल सजाय सुनाइएको छ। केन्याको तटीय सहर मोम्बासास्थित उच्च अदालतले शुक्रबार म्याकेन्जीलाई उक्त सजाय सुनाएको हो। उनले आफ्ना अनुयायीलाई येशूलाई भेट्न सकिने भन्दै भोकै बस्न निर्देशन दिएका थिए। यस घटनामा १९० बालबालिका र एक वयस्कको मृत्यु भएको थियो।

गुड न्युज इन्टरनेसनल चर्चका नेता म्याकेन्जीलाई आफ्ना अनुयायीलाई दुर्गम स्थानमा लगेर भोकै बस्न बाध्य बनाएको आरोपमा मुख्य जिम्मेवार ठहर गरिएको छ। अदालतका अनुसार १८३ जनाको मृत्यु भोकमरीका कारण भएको थियो भने अन्य आठ जनाको प्रत्यक्ष हत्या भएको थियो। म्याकेन्जीसँगै उनका २८ अनुयायी पनि दोषी ठहर भएका छन्। उनीहरूमध्ये केहीले उपवासका निर्देशन कार्यान्वयन गराउने र सामूहिक चिहान लुकाउन सहयोग गरेको अदालतले जनाएको छ। म्याकेन्जीका सहयोगी पादरी स्मार्ट म्वाकलामालाई १६० वर्षको जेल सजाय सुनाइएको छ।

सन् २०२३ मा केन्याको तटीय किलिफी काउन्टीस्थित चाकामा रान्चबाट ४०० भन्दा बढी शव निकालिएका थिए। म्याकेन्जीका अनुयायीहरू स्थानीय समुदाय र सरकारी अधिकारीको निगरानीबाट टाढा त्यहाँ बस्दै आएका थिए। ६० भन्दा बढी शवको पहिचान गरी परिवारले पुनः अन्त्येष्टि गरेका छन् भने धेरै शव अझै पहिचान हुन सकेका छैनन्। अदालतले हत्यालाई ‘निर्मम र योजनाबद्ध’ भनेको छ। न्यायाधीशले दोषीहरूमा पश्चाताप नदेखिएको पनि बताएका छन्।

म्याकेन्जीमाथि अन्य २०० भन्दा बढी पीडितसँग सम्बन्धित आतंकवाद र मानवहत्याका आरोप पनि छन्। उनी बाल दुर्व्यवहार र यातनासम्बन्धी अन्य मुद्दाको समेत सामना गरिरहेका छन्। दोषी ठहर भएका सबैलाई पुनरावेदनका लागि १४ दिनको समय दिइएको छ। म्याकेन्जीका वकिल लरेन्स ओबोन्योले फैसलाविरुद्ध पुनरावेदन प्रक्रिया सुरु गरिसकेको बताएका छन्।

घटनामा आफ्नी श्रीमती र छ सन्तान गुमाएका सुलेमान जिरोले भने २०० वर्षको सजाय पनि पर्याप्त नभएको बताए। म्याकेन्जीका छोरा ड्यान म्याकेन्जीले बुबा दोषी ठहर हुँदा दुःख लागेको भए पनि ‘पीडितले न्याय पाएका छन्’ भनेका छन्। केन्यामा मृत्युदण्डको कानुनी व्यवस्था भए पनि सन् १९८७ यता कसैको मृत्युदण्ड कार्यान्वयन गरिएको थिएन।