फुजैराह । संयुक्त अरब इमिरेट्स ९यूएई० को फुजैराह इमिरेटमा १८ वटा कार र पाँचवटा ट्रक आपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ३० जना घाइते भएका छन्।

यूएईको गृह मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै उक्त भीषण सवारी दुर्घटनाबारे जानकारी दिएको हो।
मन्त्रालयका अनुसार दुर्घटना बुधबार मध्यरात हुनुभन्दा केही समयअघि फुजैराहको प्रवेशद्वारमा भएको थियो। एक ट्रक चालकले सवारीसाधनको नियन्त्रण गुमाएपछि अर्को ट्रकसँग ठोक्किएको थियो। त्यसपछि दुवै ट्रक सडकबाट अनियन्त्रित भई सुस्त गतिको ट्राफिकका कारण रोकिएका अन्य सवारीसाधनहरूमा गएर जोतिएका थिए। ठक्करलगत्तै ट्रकमा आगलागी भएको र आगोको लप्काले अन्य थुप्रै सवारीसाधनलाई चपेटामा लिएको मन्त्रालयले जनाएको छ। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मन्त्रालयले आपत्कालीन र विशेष टोलीहरूले दुर्घटनापछिको उद्धार तथा व्यवस्थापन कार्य जारी राखेको उल्लेख गरेको छ। घाइतेमध्ये १५ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् भने बाँकी १५ जनाको अस्पतालमा उपचार भइरहेको छ। एजेन्सी


