२९ कार्तिक २०८३, आइतबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२९ कार्तिक २०८३, आइतबार 3:01 pm
Banner

कोप-३१ मा सहभागी भएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

सूचना प्रेस २०८३ कार्तिक २९ आइतबार ००:००, १४:५१ बजे १ मिनेट पढाइ

काठमाडौँ : संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्वदेश फर्किएका छन् । तुर्किएमा आयोजित सम्मेलनका क्रममा उनले ४४ अतिकम विकसित देशका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्री स्तरीय संवादलाई सम्बोधन गरेका थिए ।

सम्मेलनकै क्रममा नेपाल जलवायु कार्यका लागि अर्थमन्त्रीहरूको गठबन्धनमा १०५औँ सदस्यका रूपमा आबद्ध भएको छ । वाग्लेले जलवायु जोखिम सामना गर्ने क्षमता बढाउन आवश्यक वित्तीय व्यवस्थाबारे नीतिगत अवधारणा गठबन्धनमा छलफलका लागि प्रस्तुत गरेका थिए ।

भ्रमण विवरणअनुसार वाग्लेले बार्बाडोसकी प्रधानमन्त्री मिया मोट्ली र बेलायतका एड मिलिब्यान्डसँग विपद्पछिको ऋण राहतसम्बन्धी विशेष अन्तर्राष्ट्रिय प्याकेजमा सहकार्य गर्नेबारे छलफल गरेका थिए । उनीहरूले यस विषयमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको भ्रमण विवरणमा उल्लेख छ ।

वाग्लेले कोप-३१ मा नेपालले उठाएका विषयमा सहयोग जुटाउन संयुक्त राष्ट्रसंघका महासचिवका जलवायु दूत सेल्विन हार्टसहित पाँच जलवायु दूतसँग छलफल गरेका थिए । उनले हरित जलवायु कोषको नेतृत्वसँग भावी कार्यक्रमबारे कुराकानी गर्नुका साथै विश्व मौसम विज्ञान संगठनको जलवायु मापनसम्बन्धी कोषको कार्यक्रममा पनि सम्बोधन गरेका थिए ।

सम्मेलनका क्रममा वाग्लेले जलवायु अनुसन्धानकर्ता योहान रक्स्ट्रम र अर्थशास्त्री निकलस स्टर्नसँग भेट गरेका थिए । उनी टाइम पत्रिकाले सन् २०२६ का लागि छनोट गरेका जलवायु क्षेत्रका १०० प्रभावशाली व्यक्तिको सम्मानमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए ।