५ मंसिर २०८१, बुधबार 1732094540
पर्यटन

पर्यटन प्रवद्र्धनका लागि हेम्जामा १७औँ रोपाइँ महोत्सव

‘सबै मौसमका लागि पोखरा’ भन्ने मूल नाराका साथ पोखरा पर्यटन परिषद्को आयोजनामा असार १५ गते हेम्जामा रोपाइँ महोत्सवको हुने भएको छ । पोखरा–२५ हेम्जास्थित माई स्थानको करिब १० रोपनी क्षेत्रफलमा महोत्सव गर्न लागिएको परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो ।

अध्यक्ष भट्टराईले कृषि प्रधान देश भनेर चिनिने नेपालका, कृषि, पर्यटन र ऊर्जा मुलुकका विशेष प्राथमिकताभित्र पर्ने क्षेत्र मानिए पनि आर्थिक विकासमा यी क्षेत्रले गति लिन नसकेको जनाउँदै यसको उजागर गरेर पर्यटन प्रवद्र्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सन् १९६० मा खाद्यान्न निर्यातमा चर्चा कमाएका कृषि प्रधान मुलुक नेपाल खाद्यान्न आयात गर्ने स्थितिमा पुगेको छ, भूउपयोगसम्बन्धी उपयुक्त नीति र योजना समयमा नै नआएको कारण कृषियोग्य भूमि विभिन्न नाममा अस्तव्यस्त पारिएको छ, यो विषयमा अब सोच्नुपर्छ ।” उहाँले पोखरा र यस वरपरका क्षेत्रमा भएका बिरुवा फाँट, कुँडहर फाँट ,हेम्जा फाँट, सेदी बगर, पामे, बाच्छेबढुवा, कमलपोखरी, अर्मला फाँट लेखनाथका विभिन्न फाँटहरू जस्ता धान खेतीयोग्य जमिन दिनानुदिन घडेरीका रुपमा प्रयोग हुने कार्य तीव्र गतिमा भइरहेकाले पोखराको प्राकृतिक सौन्दर्यलाई कायम राख्न आवश्यकता रहेको औँल्याउनुभयो ।

खेतीयोग्य जमिनको संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेसाप्रति अभिपे्ररित गर्नु तथा परम्परागत हाम्रो कृषि प्रणालीमार्फत पोखराको पर्यटन प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ विगत २०६१ सालदेखि पोखरा पर्यटन परिषद्ले निरन्तर रुपमा पोखरामा असारे रोपाइँ महोत्सवको आयोजना गर्दै आएको परिषद्का उपाध्यक्ष एवम् महोत्सव संयोजक पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँले पोखरा–२५, माईस्थान प्राङ्गण हेम्जामा स्थानीयवासीको करिब १० रोपनी क्षेत्रफल खेतमा आयोजना गरिएको र सो अवसरमा हलगोरु दौड, असारेगीत तथा रोपाइँ प्रतियोगिता, हिलोमा माछा समात्ने प्रतियोगिता, हिलोमा महिला पुरुष दौड प्रतियोगिता, विदेशी पर्यटक दौड प्रतियोगिता र रस्सा कसी प्रतियोगिता गरिएको जानकारी दिनुभयो । संयोजक श्रेष्ठका अनुसार महोत्सव व्यवस्थापनका लागी खर्चतर्फ रु २४ लाख ५० हजारको बजेट अनुमानित गरिएको छ भने सो खर्चको व्यवस्थापनका लागी नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, पर्यटन मन्त्रालयलगायत विभिन्न सङ्घसंस्था एवं व्यावसायिक प्रतिष्ठानहरूसँग समन्वय गरिएको छ । पत्रकार सम्मेलनमा महोत्सवस्थलका स्थानीय संयोजक हरिशरण पौडेलले कृषिका लागि उर्वर मानिने हेम्जालाई महोत्सव हुनु सकारात्मक रुपमा लिएको जनाउँदै स्थानीयवासीका साथ रहने बताउनुभयो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले असारे रोपाइँ पनि देशको संस्कृति झल्काउने लोक संस्कृतिसँगै कृषिको महत्वलाई उजागार गर्ने भएकाले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि विभिन्न पर्यटकीय गतिविधि जोड दिँदै आएको बताउनुभयो । कार्यक्रममा परिषद्का महासचिव रामचन्द्र शर्माले महोत्सवमा हुने विविध कार्यक्रमका बारेमा जानकारी दिनुभएको थियो । उहाँका अनुसार संस्थाका उपाध्यक्ष पोमनारायण श्रेष्ठको संयोजनमा २४ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमितिहरु साथै स्थानीय संयोजक हरिशरण पौडेलको संयोजत्वमा विभिन्न उपसमितिहरु गठन गरिएको छ । साथै महोत्सव सचिवालय पोखरा पर्यटन परिषद्को सचिवालय नारेश्वरबोट लेकसाइडमा रहेको जानकारी दिनुभयो । रासस