७ मंसिर २०८१, शुक्रबार 1732300654
Banner

जलवायु परिवर्तनका बारेमा अध्ययन गरौं र खाद्य अधिकार सुरक्षीत राखौं

जलवायु र जलवायु परिवर्तन
प्राकृतिक प्रक्रिया र नियमहरू ज्यादै व्यापक, जटिल तथा अनौठा हुन्छन् । यिनीहरूलाई मान्छेले चिन्दै र बुझ्दै पनि आएका छन् । तिनलाई आफू अनुकूल बनाउने प्रयास पनि गर्दै आएका छन् । यद्यपि यस क्षेत्रमा धेरै काम गर्न बाँकी नै छ । अहिले विश्वमा जलवायु र जलवायु परिवर्तनको बारेमा धेरै चर्चा भइरहेको छ । जलवायुमा आएको परिवर्तनले जीवनलाई नकारात्मक प्रभाव पारेको मात्र होइन जीवन नै खतरामा परेको भनेर नै यस विषमा यतिधेरै चर्चा हुने गरेको हो । जलवायु भन्नाले कुनै स्थानको अपेक्षाकृतरूपमा लामो अवधिसम्मको मौसमको औषत अवस्थालाई जनाउँछ । सो स्थानको तापक्रम र वर्षौँ वर्षको वर्षाको आँकडालाई विश्लेषण गरी निकालिएको सरदर तामक्रम र पानी पर्ने मात्राले नै जलवायुलाई बुझाउँछ र यो जलवायु लामो कालसम्म स्थिर हुन्छ । यसर्थ जलवायु परिवर्तन भन्नाले लामो अवधिसम्म स्थिर रहेको जलवायुमा आएको परिवर्तनलाई बुझ्नु पर्ने हुन्छ ।

जलवायु परिवर्तन मुलतः पृथ्वीको सतहसँग जोडिएको वायुमण्डल तातिँदै गएर हुन गएको हो । वायुमण्डल तातिनुको मूल कारण पृथ्वीको वायुमण्डलमा हरितगृह ग्यासहरूको मात्रा बढ्दै गएर हो । खासगरी छ थरीका ग्यासहरूले हरितगृहलाई प्रभाव पारिरहेको मानिन्छ । यिनीहरू कार्बन डाइअक्साइड, मिथेन, नाइटस अक्साइड, ओजोन र ह्यालो कार्वन हुन् । यी ग्यासहरूको मात्रामा बृद्धि भएर नै पृथ्वीको तामक्रम असामान्यरूपमा बढ्दै गएको हो । यी ग्यासहरूको परिमाण यति धेरै बढ्नुमा औद्योगिक उत्पादनका लागि जलाइएको कोइला, पेट्रोलियम पदार्थ र वन फँडानी आदिलाई मुख्यरूपमा लिइएको छ ।

नेपालको अधिकतम तापक्रम प्रति वर्ष सरदर ०.०६ डिग्री सेल्सियसका दरले बृद्धि भएको देखिन्छ र हिमाली क्षेत्रमा यो दर बढी देखिएको अनुसन्धानले बताएको छ । विश्व जनसङ्ख्याको करिब ०.४ प्रतिशत मानिस बसोवास गर्ने नेपालले विश्वको कूल हरितगृह ग्यासको करिव ०.०२५ प्रतिशत मात्र उत्सर्जन गरेको छ । तर पनि हाम्रो देश वायुमण्डलीय तापक्रम बृद्धिका कारण नराम्ररी प्रभावित हुँदै गएको छ । यहाँ वार्षिक वर्षा–चक्रमा हेरफेर, लामो समय सम्म खडेरी पर्ने तथा तीब्र वर्षा हुने गरेको छ । हाल दिन र रात दुबै पहिलेको भन्दा बढी तातो भै रहेका छन् । मुसलधारे वर्षा हुने दिनको सङ्ख्या बढ्दैछ । पानी पर्ने समय र अवधिमा परिवर्तन भइरहेको छ । तीब्र गतिमा हिउँ पग्लिँदै जानाले हिमनदीहरू पातलिँंदै र छोट्टिँदै गएको र हिमतालको आकार बढ्दै गएको छ । जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत, बनजङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारमा प्रतिकूल प्रभाव पर्न थालेको छ । बाढी, पहिरो तथा डढेलोमा तीव्रता आएको छ । यी कारणबाट नेपालमा अत्यधिक मात्रामा जनधनको क्षति हुनुको साथै जीविकोपार्जनमा असर पारेको देखिन्छ । हाल जलवायु परिवर्तनबाट लाखौँ नेपालीहरू जोखिममा परेको अनुमान गरिएको छ । जलवायु परिवर्तनको कारण सिर्जित समस्याहरू घट्नुको सट्टा बढ्दै गएका र यसको कारक नेपाल नभएतापनि अनुकूलनका कार्यक्रमहरू कार्यान्वयन गर्दै जानु परेको छ । तसर्थ नेपालले जलवायु अनुकूलनलाई राष्ट्रिय एजेण्डाको रूपमा अगाडि ल्याएर यसबाट सिर्जना हुने जोखिम न्यून गर्न विविध कार्यक्रमहरू कार्यान्वयन गर्नु पर्ने बाध्यात्मक अवस्था आएको हो ।

खाद्य अधिकार मानव अधिकार
खाद्य अधिकार मौलिक मानव अधिकार हो । खाद्यान्नको अधिकार जीवनको अधिकार हो । जुन अन्य सबै मानव अधिकारभन्दा ठूलो र महत्वपूर्ण हुन्छ । खान पाउने अधिकार मान्छेले नपाउने हो भने नागरिक तथा राजनीतिक अधिकारको कुनै सार्थकता हुँदैन । सबै मानिसहरूले निरन्तररूपमा आ–आफ्नो संस्कृति र परम्परा अनुसारको स्वस्थ्य खाद्यान्न बिना कुनै अवरोध, भेदभाव प्राप्त भइरहने अवस्थालाई खाद्य सुरक्षा भनिन्छ । पर्याप्त गुणात्मक खाना उपलब्ध भएर भोकबाट छुटकारा हुन पाउनु मानवको नैसर्गिक अधिकार हो । गुणात्मक खाद्य भन्नाले खानामा सन्तुलन हुनुपर्ने, कार्बोहाइडे«ट, प्रोटिन, बोसो, भिटामिन तथा खनिज पदार्थ सबैको उपस्थिति पर्याप्त मात्रामा हुनुपर्दछ भन्ने बुझिन्छ ।

मानवअधिकारका अन्तर्राष्ट्रिय सन्धी तथा सम्झौता, मानव अधिकारका क्षेत्रीय स्तरका सन्धी सम्भौता, अन्तर्राष्ट्रिय मानवअधिकार कानून तथा सरकारी एवम् गैरसरकारी अनेकौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय घोषणाहरूले खाद्य अधिकारलाई स्वीकार गरेका छन् । मानवअधिकारको विश्वव्यापी घोषणा (१० डिसेम्बर १९४८ का दिन संयुक्त राष्ट्र संघको महासभाको निर्णय नं. २१७ (III) द्वारा पारित तथा घोषित) धारा २५(१) मा प्रत्येक व्यक्ति र निजको परिवारको स्वास्थ्य र कल्याणको लागि जीवनस्तरको अधिकार छ र यसअन्तर्गत खाना, नाना र छाना तथा औषधोपचारका सुविधाहरू र आवश्यक सामाजिक सेवाहरू पनि सम्मिलित छन् र विरामी, असमर्थता, विधवा, बुढेसकाल वा निजको शक्तिबाहिरको कुनै परिस्थितिमा साधन अभाव भएमा सुरक्षाको अधिकार छ ।
जलवायु परिवर्तन र कृषि तथा खाद्य प्रणाली
जलवायु र कृषि प्रणालीको बीचमा अन्योन्याश्रित सम्बन्ध रहेको छ । लामो कृषि प्रविधिको अनुभवबाट जलवायु अनुकूल हुनेगरी नै कृषि प्रणाली स्थापित हुन पुगेको हो । जलवायु परिवर्तनले समग्रमा कृषि प्रणालीमा नकारात्मक असर पु¥याइरहेको तथ्य अनेकौँ खोज तथा अनुसन्धानमार्फत् सार्वजनिक भइरहेका छन् । जलवायु परिवर्तनको कारणले अन्न उत्पादन घट्ने तथा नासिने हुन्छ । परिणामस्वरूप खाद्यान्नमा कमी आई खाद्यान्न अपुग हुन पुग्दछ ।

मानवजातीले कृषिलाई सुरुमा जीविकोपार्जनको निम्ति अपनायो भने पछि लाभ हासिल गर्न व्यापारिक तथा व्यावसायिक उद्देश्य लियो । अहिले पनि कतिपय देशमा जीविकोपार्जन तथा कतिपय राष्ट्रमा व्यापारिक तथा व्यावसायिक प्रयोजनको निम्ति कृषिलाई अँगाल्ने गरेको पाईन्छ । मान्छेले व्यवहार र प्रयोगबाट आफूलाई खान चाहिने बोट, बिरुवा, रुख, फलफूल र प्राणी चिन्यो, बुझ्यो र तिनलाई संरक्षण तथा सम्बद्र्धन गर्दै आयो । मान्छेको जीवनको अस्तित्व रक्षाको निम्ति स्वयं आफैँले नै यो कार्य गर्दै आएको हो । यी खाद्य वस्तु या अन्नको भण्डार र स्रोत पृथ्वी र यसको हावापानी, माटो, मौसम या अर्को अर्थमा जलवायु नै हुन् । यति मात्र होइन अनेकौँ खोज, अनुसन्धान तथा आविष्कारको माध्यमबाट नयाँ नयाँ जातका वनस्पति तथा प्राणीको उत्पादन गर्दै खाद्य स्रोत र खाद्य संस्कृतिमा समेत परिवर्तन हुनगयो ।

जलवायु परिवर्तनले विभिन्न क्षेत्रलाई प्रभाव पारेको छ । त्यसमध्ये कृषि तथा खाद्य क्षेत्र पनि एउटा हो । नेपाल एक कृषि प्रधान देश हो । जीवीकोपार्जनको मुख्य आधार कृषि तथा प्राकृतिक स्रोत भएका नागरिकलाई जलवायु परिवर्तनले अझ बढी असर पार्दछ । जलवायु परिवर्तनको कारण विश्वको तापमानमा बृद्धि हुनाले ठण्डी क्षेत्रको उत्पादकत्वमा बृद्धि भएको र गर्मी क्षेत्रको उत्पादकत्वमा ह्रास आएको अध्ययनले देखाएको छ । पहाडी भागमा जहाँ धान खेती हुँदैनथ्यो त्यहाँ धान खेतीको संभावना देखिएता पनि जलवायु परिवर्तनले सिँचाइ प्रणालीमा समेत नकारात्मक असर पार्ने भएकोले समग्र उत्पादन बढ्ने अवस्था हुँदैन । हिउँदयाममा तराई क्षेत्रमा लाग्ने हुस्सु तथा बादलले आकास ढाक्ने र घाम नलाग्ने कारणले महत्वपूर्ण हिउँदे फसलको रूपमा रहेका आलु, तोरी, गेडागुडी, प्याज आदिको उत्पादनमा कमी भएको छ र गम्भीर नकारात्मक असर पारेको छ ।

जलवायु परिवर्तनको कारणले अत्यधिक वर्षा या अतिवृष्टि हुनाले बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक प्रकोप बढ्नाले बाली नष्ट हुने तथा फसल लगाउन नपाउने जस्ता कारणले कृषि उत्पादनमा नकारात्मक असर पारेको छ । लामो समयसम्म खडेरी पर्नाले सिँचाइको अभाव, माटोको गुणस्तरमा ह्रास र उत्पादनमा कमी, बालीमा अनेका प्रकारका रोग, अत्यधिक डढेलो तथा पशुपंक्षीमा समेत नयाँ नयाँ प्रकारका रोगहरूको प्रकोप बढ्ने अवस्था देखिएको छ । यसले खाद्य उत्पादनमा न्युनता ल्याउने छ । फलस्वरूप खाद्य असुरक्षा र भोकमरी बढ्नेछ ।

खानाको स्रोतको रूपमा रहेका वनस्पति तथा प्राणीलाई जलवायु परिवर्तनले प्रतिकूल प्रभाव पार्दछ । कतिपय वनस्पति तथा प्राणी लोप हुने तथा स्थानान्तरण हुने खतरा बढेको छ । सीमसारको जैविक विविधतामा चुनौति खडा भएको छ । हाम्रो देशका कतिपय आदिवासी तथा जातीको परम्परागत व्यवसाय नै लोप हुने या खतरामा पर्ने अवस्था यसैले उत्पन्न गराएको हो । जस्तै माछा मार्ने माझी जातीको व्यवसायमा प्रतिकूलता सृजना भएमा यसबाट सो जातीको खाद्य सुरक्षामा समेत कमी आउनेछ ।
नेपालको संविधान र वातावरणीय न्याय
नेपालको संविधानले जलवायु परिवर्तनले पारेको असरलाई आत्मसात गर्दै वातावरणीय न्यायको बारेमा महत्वपूर्ण व्यवस्थाहरू गरेको छ । संविधानले प्राकृतिक साधन स्रोतको संरक्षण, संबद्र्धन र उपयोग सम्बन्धी नीति अख्तियार गरेको छ । राष्ट्रिय हित अनुकूल तथा अन्तरपुस्ता समन्यायको मान्यतालाई आत्मसात् गर्दै देशमा उपलब्ध प्राकृतिक स्रोत साधनको संरक्षण, संबद्र्धन र वातावरण अनुकूल दिगो रूपमा उपयोग गर्ने र स्थानीय समुदायलाई प्राथमिकता र अग्राधिकार दिँदै प्राप्त प्रतिफलहरूको न्यायोचित वितरण गर्ने नीति अवलम्बन गर्नु सकारात्मक पक्ष हो । नेपाल सरकारले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६ जारी गर्दै जलवायु परिवर्तनबाट उत्पन्न हुनसक्ने परिणामसमेतका विषयगत विज्ञ तथा सरोकारवालाहरूको समेत सहभागितामा छलफल गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका विविध पक्षहरू पहिचान गरी कार्यान्वयनका लागि सुझाव दिने भन्ने व्यवस्था गरेको छ । जलवायु परिवर्तनसम्बन्धी नीति २०६७ ले जलवायु परिवर्तन नियमित प्राकृतिक प्रक्रिया भएता पनि औद्योगिकीकरण तथा यातायात क्षेत्रमा खनिज इन्धनको व्यापक प्रयोग एवम् वन विनाशको कारण हरितगृह ग्यासको अत्याधिक उत्सर्जनबाट जलवायु परिवर्तनमा तीव्रता आएको सुस्ष्ट गरेको छ ।
खाद्य अधिकारसम्बन्धी संवैधानिक तथा कानूनी व्यवस्था
नेपालको संविधानले खाद्य सम्प्रभूता, खाद्य अधिकार र खाद्य सुरक्षालाई मौलिक अधिकारमा समाविष्ट गरेको परिवेशमा यसलाई कार्यान्वयन गर्न खाद्य सुरक्षा ऐन आइसकेको छ । संविधानको मौलिक हक अन्तर्गत खाद्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । जस अनुसार प्रत्येक नागरिकलाई खाद्य सम्बन्धी हक, खाद्यवस्तुको अभावमा जीवन जोखिममा पर्ने अवस्थाबाट सुरक्षित हुने हक र कानून बमोजिम खाद्य सम्प्रभुताको हक हुनेछ भन्ने प्रावधान छ । संविधानले अदालतलाई मौलिक अधिकारहरूको पालना गराउन उपयुक्त आदेश वा रिटहरू जारी गर्ने अधिकार दिएको छ । यी व्यवस्थाहरू नेपालको संवैधानिक इतिहासमा पहिलोपटक समावेश भएका हुन् । मौलिक हकको कार्यान्वयनका लागि खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन, २०७५ जारी भएको छ । यसले खाद्य सम्बन्धी अधिकारको सम्मान, संरक्षण र परिपूरण गर्ने व्यवस्था गरेको छ ।
निष्कर्ष
जलवायु परिवर्तनले खाद्य उत्पादनमा कमी ल्याउने, परम्परागत खाद्य सामग्रीको अस्तित्वमा संकट उत्पन्न गर्ने, खाद्य सामग्रीलाई अस्वस्थ्य पार्ने, खाद्य वितरण प्रणालीमा प्रतिकूल प्रभाव पार्नेजस्ता परिस्थितिहरू सिर्जना गर्दछ । जलवायु परिवर्तनको कारकतत्वको रूपमा रहेको हरितगृह ग्यास उत्सर्जन अरु प्राणीले गरेको होइन मान्छेले नै गरको हो । सुरुमा नबुझेर गरेको भए तापनि पछि औद्योगिक शक्ति राष्ट्रहरूले यसलाई न्यूनीकरण गर्न सकेनन् । त्यसकारण जसले बढी जलवायु परिवर्तनको निम्ति भूमिका खेलिरहेको छ, उसैले खाद्य अधिकारको उल्लंघन गरिरहेको हुन्छ । खाद्य अधिकारलाई सुनिश्चित गर्न आफैँले प्रतिबद्धता जनाएका अन्तर्राष्ट्रिय कानून, घोषणा र जलवायु परिवर्तनलाई रोक्न चालिएका नीति तथा योजनाको बिरुद्धमा समेत उनीहरू क्रियाशील छन् । उल्लंघनकर्तालाई न्यायको कठघरामा नउभ्याउने हो भने यसको पुनराबृत्ति भैरहनेछ । त्यसैले यस बारेमा सोचौं र खाद्य अधिकारलाई सुरक्षीत गरौँ । सबैलाई चेतना भया ।