१ मंसिर २०८१, शनिबार 1731796471
प्रदेश

मधेशमा अर्बौं बजेट आउँदा पनि विकास हुन सकेन  : सुषमा द्विवेदी

काठमाडौँ — सामाजिक अभियन्ता, राजनीतिकर्मी सुषमा द्विवेदीले विकासका नाममा मधेशमा अर्बौंको बजेट निकासा हुँदासमेत विकास हुन नसकेको बताएकी छिन् ।उनले अन्य क्षेत्रको तुलनामा मधेशका महिलामा विकास हुन नसकेको बताइन् ।

‘नेपालकै महिलाको तुलना गर्दा अन्यक्षेत्र भन्दा मधेशमा विकास हुन सकेन । मधेशका महिलाको विकास हुन सकेन । ५ वर्षको अवधिमा अर्बौंको बजेट आउँदा पनि विकास भएन,’ उनले भनिन, ‘२/४ महिलाहरु जनप्रतिनिधि हुँदैमा महिला स्तरमा विकास भयो भन्ने हुँदैन ।’

वीरगन्ज महानगरपालिकाका ३२ वटै वडाका महिला जनप्रतिनिधिलाई एकै ठाउँमा राखेर शैक्षिक सर्वेक्षण गरेको बताउँदै उनले प्रतिफल सुखद नभएको बताइन् ।

‘६६ जनाको सर्वेक्षणमा १८ प्रतिशत महिला साक्षर थिए । तीमध्ये कतिपय साधारण लेखपढ मात्रै थिए,’ उनले भनिन्, ‘जनप्रतिनिधिको अवस्था त्यस्तो छ भने उहाँहरुले दलित, जनजाति, मुस्लिम समुदायमा गएर के सन्देश दिनसक्नु हुन्छ ? विगतका तुलनामा राम्रो भए पनि अझै थुप्रै समस्याहरू छन् ।’त्यस्तै, मधेश प्रदेशमा अस्पताल, शिक्षाको अववस्था पनि उस्तै रहेको बताइन । ‘शिक्षाको गुणस्तरको कुरा गर्दा निजी क्षेत्रलाई हेप्छौ, सरकारी भएन । तर, सरकारी स्कुलमा जति बजेट दिइएको छ, त्यही अनुसार गुणस्तरको शिक्षक दिएका छौँ त ?,’ उनले भनिन्, ‘हामी विद्यार्थीको गुणस्तरको कुरा गर्छौं, यहाँ शिक्षककै गुणस्तरमा प्रश्न उठेको छ ।’