८ मंसिर २०८१, शनिबार 1732344547
Banner

अन्तर्राष्ट्रिय साक्षरता दिवसः हाम्रो बुझाइ, चेतना, अभ्यास र विश्वास

गएको ५५ वर्षदेखि बुझेर नबुझेर जसरी भएतापनि हरेक वर्ष सेप्टेम्बर ८ का दिन हामीले साक्षरता दिवस मनाउँदै आएका छौं। यो वर्ष पनि मनाउँदैछौं। यो वर्ष युनेस्कोले साक्षरता दिवसको मुख्य नारा “साक्षरता सिकाइका क्षेत्रहरू परिवर्तन गर्दै” भन्ने तय गरेको छ। यो वर्षको साक्षरता दिवसको मुख्य गतिविधिहरू कक्षाकोठाहरूमा पुस्तकहरू पुर्याउऩे, पुस्तकहरू उपहार दिने र सामुदायको नेतृत्वमा सामुदायिक पुस्तकालयहरू सञ्चालन गर्ने भन्ने रहेको छ। तर हामीले परिवर्तित परिवेश र समयको आवश्यकता अनि साक्षरताको मूलमर्मअनुसार यसलाई न परिभाषित गर्न सकेका छौं न त गतिविधिहरू नै गरिरहेका छौं। वर्षको एकदिन औपचारिक कार्यक्रम गरेर बाँकी दिन निष्क्रिय हुँदा साक्षरताको अभिप्राय बुझ्न बुझाउन सकिदैन् भन्ने चेत हामीमा आएको छैन्।

हामीले साक्षरतालाई साँघुरो घेरामा बुझेर र बुझाएर जे जति क्रियाकलापहरू गरिरहेका छौं। त्यसले अझैपनि हामीले साक्षरतालाई फराकिलो र व्यावहारिक रूपमा ग्रहण गरेर यसलाई परिभाषित गर्ने र योजनाहरू कार्यान्वयनमा लैजाने संकल्प गर्न सकेका छैनौं अनि साक्षरता कार्यक्रमले अपेक्षित उपलब्धी दिन पनि सकेको छैन् भन्ने संकेत गरेको छ। हुन त नेपाल तथ्याङ्क विभागको तथ्याङ्कले नेपालको साक्षरता दर उच्च नै देखाएको छ। २०७८ को तथ्याङ्कले नेपालको औषत साक्षरता दर ७७.७० प्रतिशत पुगेको देखाउँछ जबकी २०६८ मा ६७.९१ प्रतिशत थियो। तर तथ्याङ्कमा साक्षरता प्रतिशत बढेको देखिएतापनि हाम्रो बुझाइ र चेतनाको स्तर, अभ्यास र विश्वासले हामी साक्षर नभएको प्रमाणित गरिरहेको छ।

देशमा देखिएका पछिल्ला केही गतिविधि र घटनाहरूलाई उदाहरणका रूपमा लिएर हामीले हाम्रो साक्षरताको स्तर कस्तो छ भने मापन गर्न सक्छौं। जस्तैः कमेडियन अपूर्व क्षितिज सिंह नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा उनी भदौ १२ गते पक्राउ परेर १० दिनदेखि हिरासतमा छन्। परिसरमा उनीविरूद्ध चार वटा मुद्दा परेका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुर्व्यवहार गरेको आरोपमा ठमेलस्थित छाँयासेन्टरमा रहेको भिएफएसका एक जना सुरक्षा गार्ड शेरजंग गुरूङलाई प्रहरीले हिरासतमा राखेको थियो। जबकी सुरक्षा गार्ड गुरूङले आफ्नो जिम्मेवारी पूरा गरेका थिए। सरकारले नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपतिबाट पठाइएका सुझावहरूको उपेक्षा अनि संसदको आयु बढाउन गरेको प्रयास र फोहोरमैला व्यवस्थापनमा राज्यको असफलताले दुर्गन्धित भएको गाउँसहर आदि।

२१ औं शताब्दीमा साक्षरता भनेको ज्ञान निर्माण र प्रमाणीकरण पनि हो। विज्ञान प्रविधि तथा सूचना क्षेत्रमा भइरहेको परिवर्तन अनि डिजिटल प्रविधिहरूमा भएको क्रान्तिले हाम्रा कैयौं परम्परागत मूल्यमान्यता र अभ्यासलाई विस्थापित गरिरहेको छ। यसलाई बुझेर हामीले साक्षरताको परम्परागत र साँघुरो परिभाषाबाट बाहिर आउनुपर्छ। तर नेपालले सन् १९९१ मा गरेको परिभाषाको जगमा साक्षरता योजना बनाएर ति गतिविधिहरूमा लगानी गरिरहेको छ। जुन पूर्णतः असान्दर्भिक भइसकेको छ। त्यसैले यो वर्ष साक्षरता दिवस मनाईं रहँदा हामीले साक्षरतालाई समयानुसार परिभाषित गर्दै नयाँ सन्दर्भ र आवश्यकतानुसार गतिविधिहरू गर्ने प्रतिबद्धता जनाउनु पर्छ।

साक्षरतालाई फराकिलो र व्यापक रूपमा बुझ्नुपर्छ। आज यसको महत्त्व र आवश्यकतालाई बुझेर साक्षरता क्रियाकलापहरू नहुँदा हामीले हाम्रो व्यक्तिगत, सामाजिक, राजनीतिक तथा सांस्कृतिक पक्ष बुझ्न नसकेर राष्ट्रिय आवश्यकता र प्राथमिकता पनि छुट्याउन सकेका छैनौं। जस्तैः शिक्षा ऐनले भन्दा दिर्घकालमा राष्ट्रिय स्वार्थ कमजोर बनाउने नागरिकता विधेयकले प्राथमिकता पायो र संसद्को प्राविधिक बहुमतले पास पनि गराइयो। आज त्यो विधेयकले राष्ट्रपति संस्थालाई विवादमा ल्याएर लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने काम भइरहेको छ।

त्यसैले साक्षरताको फराकिलो पक्षलाई बुझेर यसलाई परिभाषित गर्दै कार्यक्रमहरू बनाउनु पर्छ। त्यहीअनुसार लगानी जुटाउनु पर्छ र प्रभावकारी कार्यान्वयनमा लैजानु पनि पर्छ। नेपालमा तथ्याङ्कले हामी लगभग ७८ प्रतिशत साक्षर भइसकेका छौं तर व्यावहारिक रूपमा मापन गरियो भने त्यो तथ्याङ्क मेल खाँदैन्। तथ्याङ्कमा मात्र आधारित भएर होइन अभ्यासहरूको मूल्याङ्कनका आधारमा हामीले हाम्रो साक्षरताको स्तरलाई बुझ्नुपर्छ। त्यसो भए साक्षरता के कति प्रकारका हुन्छन् र ति के के हुन सक्छन् भन्ने कुरामा हामी स्पष्ट हुनुपर्छ।

अहिले हामीलाई घरपरिवारदेखि सिंहदरबारसम्म चलाउने क्षमता विकास गर्ने, खेतीपाती गर्नेदेखि लिएर उद्योग कलकारखाना चलाउने, घरगोठ निर्माण गर्नेदेखि हाईड्रो पावर बनाउने र चलाउने ज्ञान, सीप र विज्ञान विकास गर्ने साक्षरता चाहिएको छ। परम्परागत मूल्यमान्यता अर्थात मौलिक चिन्तन प्रणालीको जगमा नयाँ चिन्तन प्रणाली अपनाउन सक्ने विश्वास जगाउने साक्षरता आवश्यक भएको छ। यसका लागि सञ्चार, भाषिक सांस्कृतिक, प्राकृतिक, धार्मिक, वैज्ञानिक, प्राविधिक, सूचना, शिक्षा, स्वास्थ्य, वित्तिय, डिजिटल आदि साक्षरता कार्यक्रमको पाठ्यक्रम बनाएर लागु गर्नुपर्ने भएको छ।

आज हामी प्रत्येकका हातमा एउटा डिभाईस छ, त्यो हो मोबाईल फोन। हामी ईन्टरनेटका माध्यमबाट हरबखत विश्वसँग जोडिएका हुन्छौं। यसको सदुपयोग गर्न सक्दा यो प्रगतिको साधन बन्छभने दुरूपयोग भयोभने दुर्गति व्यहोर्नु पर्छ। भनिन्छ, विज्ञानको दोहोरो भूमिका हुन्छ। यो भूमिकालाई बुझ्नका लागि पनि हामीलाई ग्याजेट साक्षरता अनिवार्य भएको छ। हिजोआज अभिभावकहरू भन्दैछन्, हाम्रा बच्चाहरू ग्याजेटमार्फत कुलतमा पर्दैछन्। यस्तो स्थितिमा अभिभावक र बच्चा दुबैलाई ग्याजेट साक्षरता चाहिएको छ। यसको सदुपयोगले दिने लाभ र दुरूपयोगले पुर्याउने हानीका बारेमा खुला साक्षरता अभियान चलाउनु पर्ने भएको छ।

हामी को कति शिक्षित र साक्षर वा निराक्षर आफैले छुट्याउनु पर्ने भएको छ। विद्यालय वा विश्वविद्यालय शिक्षा लिंदैमा हामी साक्षर नहुन सक्छौं। विद्यालय वा विश्वविद्यालयले दिएको प्रमाणपत्र सिमित दायराको अध्ययनमा प्राप्त भएको हुन्छ भने अनौपचारिक शिक्षा अर्थात साक्षरताको दायरा फराकिलो हुन्छ भनेर हामीले बुझ्नुपर्छ।