३ मंसिर २०८१, सोमबार 1731957298
प्रदेश

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले २ राज्यमन्त्री थपे

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले २ जना राज्यमन्त्री थपेका छन्। प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार २ प्रदेश सांसदलाई मन्त्री नियुक्त गरेका हुन्।

प्रदेशको भौतिक पूर्वाधार राज्यमन्त्रीमा सुशीला बुढाथोकी र आर्थिक मामिला राज्यमन्त्रीमा बलबहादुर सोडारीलाई नियुक्त गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रणबहादुर रावलले जानकारी दिए।

उनीहरू नेकपा एकीकृत समाजवादीका तर्फबाट राज्यमन्त्री बनेका हुन्। उनीहरू दुवै जनाले पद तथा गोपनीयताको शपथ पनि लिइसकेका छन्।

यसअघि आर्थिक मामिला राज्यमन्त्री रहेका अम्मर साउदलाई फिर्ता बोलाएर एकीकृत समाजवादीले उनको सट्टामा सोडारीलाई पठाएको हो।

यस्तै यसअघि समाजवादीका तर्फबाट भौतिक पूर्वाधार राज्यमन्त्री रहेका कुलवीर चौधरी हालै नेकपा एमालेमा प्रवेश भएपछि उनको सट्टामा बुढाथोकीलाई मन्त्री नियुक्त गरिएको हो।