८ मंसिर २०८१, शनिबार 1732396558
Banner

आसन्न निर्वाचनका लागि आज मनोनयन दर्ता, बढिमा २५ र १० वटा झण्डासम्म लैजान पाउने

काठमाडौं । मंसिर ४ गते हुने आम निर्वाचनका लागि आज उम्मेदवार दर्ता गर्ने कार्यसूची रहेको छ ।

निर्वाचन आयोगले तोकिएको कार्यसूचीअनुसार आज मनोनयन दर्ताको कार्यक्रम गर्न लागेको हो ।

आयोगले तोकेको मंसिर ४ गते हुने आम निर्वाचनको निर्वाचनको कार्यतालिका अनुसार असोज ११ गते निर्वाचन अधिकृत नियुक्ति गरिनेछ भने असोज २१ गते कार्यालय स्थापना र असोज २३ गते मनोनयन गर्दाको कार्यक्रम तय गरिएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् ।

उनले उम्मेदवारी मनोनयनको सबै तयारी पूरा भएको जनाएका छन् ।

देशभरका ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८८ निर्वाचन अधिकृतको कार्यालयमा आवश्यक जनशक्ति, सुरक्षा सहित सबै व्यवस्थापन पूरा गरिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा उनले बताएका छन् ।

त्यस बाहेक निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्नसमेत उनले विशेष आग्रह गरेका छन् ।

यसैबीच आयोगले उम्मेदवारी मनोनयनका लागि २५ जना भन्दा बढी निर्वाचन अधिकृतको कार्यालयमा नजान राजनीतिक दल र उम्मेदवारहरूलाई आग्रह गरेको छ । त्यस्तै १० वटा सम्म झण्डा ल्याउन पाउने पनि बताएका छन् ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन आचार संहिताको पूर्णरूपमा पालना गर्न दल तथा उम्मेदवारहरूलाई आग्रह गरेका हुन् ।

आयोगले शनिवार गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त थपलियाले सरकारी स्रोत, साधनको प्रयोग गरेर निर्वाचनको प्रचारका लागि आफ्नो निर्वाचन क्षेत्रबाहेक अन्य ठाउँमा नजान पनि मन्त्रीहरूलाई रोक लगाइएको जानकारी दिए ।