काठमाण्डौ । नेकपा एमाालको वरिष्ठ उपाध्यक्ष तथा काठमाण्डौ क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले चक्रपथ निर्माणका क्रममा महाराजगंजसम्मको योजनालाई धोबीखोलासम्म लैजान आफूले पहल गरेको बताएका छन् ।
आफ्नो पहलमा धोबीखोलासम्म चक्रपथ बनाउका लागि दुवैतर्फ क्लियरेन्स गराएर काम अघि बढाएको उनको भनाई छ । उनले कतिपय ठाउँमा घरसमेत भत्काउनुपर्ने भएकाले उचित मुआब्जाको व्यवस्था गरेको जानकारी दिए । तर सरकार परिवर्तन भएपछि योजनाको मोडल नै परिवर्तन गरेर काम रोकिएको पोखरेलले बताए ।
चिनियाँहरुले बनाएको चक्रपथ विस्तारका क्रममा विगतमा सरकारको लापरबाही भएको उल्लेख गर्दै उनले सडकको दुवैतिर क्लियरेन्स नगरिदिदा समस्या भएको बताए । २ वर्षमा हुने काम ७ वर्ष लागेको उनको भनाई छ ।
पोखरेलले निर्वाचित भएपछि दुई वटा कामलाई प्राथमिकता दिने बताएका छन् ।
पोखरेलले नीति, योजना र बजेट निर्माणलाई पहिलो काम भनेका छन् भने आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणलाई दोस्रो कामको रुपमा स्पष्ट पारेका छन् ।
एमालेका नीति तथा कार्यक्रममा पनि आफू संलग्न हुनुपर्ने अवस्था रहेको उनको भनाई छ । उनले भने–“नीति कार्यक्रम बनाउने काममा मैले ध्यान दिएँ भने यो क्षेत्रको विकास निर्माणमा म केन्द्रित भएँ । अब फेरी पनि म यही काम गर्नका लागि प्रतिबद्ध छु ।”
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तरगत आउने बजेटलाई विकास निर्माणमा सदुपयोग गर्ने पोखरेलको भनाई छ । पूर्वाधार विकास, सार्वजनिक विद्यालय र स्वास्थ्य चौकी व्यवस्थित गर्ने, मठ मन्दिरको संरक्षण गर्ने जस्ता कामलाई आफूले ध्यान दिने उनले बताए ।
पोखरेलले आफ्नो क्षेत्रमा भएका समस्या समाधानका लागि स्थानीय जनतासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
एमाले केन्द्रीय समितिका सदस्य तथा काठमाण्डौ ५ को क का प्रदेश सांसदका उम्मेदवार नारायण सिलवालसँग विगतदेखि नै मिलेर काम गरेको स्मरण गर्दै पोखरेलले फेरी पनि त्यसैगरी अघि बढ्ने बताए ।
त्यसैगरी एमाले केन्द्रीय समितिका सदस्य तथा काठमाण्डौ क्षेत्र नम्बर ५ को क का प्रदेश सांसदका उम्मदेवार नारायण सिलवालले आफ्नो क्षेत्रमा भएका सबैखाले समस्या समाधानका लागि प्रतिबद्ध रहेको बताएका छन् । सिसिटिभी क्यामरा जडान गरेर सुरक्षा व्यवस्था मिलाउने सिलवालले बताए । उनले प्राविधिक अध्ययन गरेर प्रहरीसमेतको सहकार्यमा सिसिटिभी जडान गर्ने योजनालाई बजेट विनियोजन भइसकेको जानकारी दिए ।
प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तरगत बजेट माग गरेको भए पनि गठबन्धनको सरकारले एमालेका सांसदले मागेको बजेट नदिएको सिलवालले बताए । “एक रुपैयाँ पनि नेकपा एमाले सांसद भएको क्षेत्रमा बजेट नहालेर उनीहरुले आफ्नो मान्छेलाई मात्रै बजेट दिए ।” उनले भने ।
बागमति प्रदेशमा एमालेको सरकार हुँदा भने धेरै योजनामा बजेट विनियोजन गरेर काम सम्पन्न गरेको सिलवालले उल्लेख गरे । त्यसबाहेक काठमाण्डौ महानगर र वडाबाटसमेत बजेट व्यवस्थापन गरेर विभिन्न योजना सम्पन्न गरेको उनले स्मरण गराए । सिलवालले आफ्नो क्षेत्रमा धेरै पार्कहरु, चुनदेवी मन्दिर, टुडालदेवी मन्दिर, वालुवाटार ब्याडमिन्टन कोर्ट, धुम्बाराही हाइट क्लबलगायत विभिन्न योजना सम्पन्न गरेका छन् ।
काठमाण्डौ महानगरको वडा नम्बर ४ मा निर्माण गर्नुपर्ने सडकका लागि बजेट छुट्टयाएको तर नेपाल विद्युत प्राधिकरण र मेलम्ची आयोजनाको काम सम्पन्न नभएकाले सडकको काम रोकिएको सिलवालले जानकारी दिए । विगतमा पहिला सडक पिच गरेपछि कहिले प्राधिकरणको तार बिच्छ्याउन र कहिले मेलम्चीको पाइपका लागि त्यही सडक भत्काउनु परेकाले अब भने उल्टो काम नगर्नेतर्फ ध्यान दिएको उनले बताए ।
त्यस क्षेत्रमा सामुदायिक कुकुरले दुःख दिने गरेको गुनासो आएको उल्लेख गर्दै सिलवालले चाहेर पनि तत्काल समाधान गर्न नसकेको स्पष्ट पारे । काठमाण्डौ महानगरले धेरै प्रयास गरे पनि पूर्ण रुपमा नियन्त्रण हुन नसकेको उनले बताए ।
विकास निर्माणलाई सहजै अघि बढाउनका लागि वडादेखि प्रतिनिधिसभासम्म एउटै दलको उम्मेदवार विजयी हुनुपर्नेमा सिलवालले जोड दिएका छन् । फरक फरक दलको व्यक्ति जनप्रतिनिधि भएको अवस्थामा मत बाझिने र काम प्रभावित हुने भएकाले विगतमा जस्तै यसपटक पनि एमालेका उम्मेदवारलाई विजयी गराउन सिलवालले आग्रह गरेका छन् । धेरै जसो वडामा एमालेले जितेको र महानगरको उपप्रमुख पनि एमालेले नै जितेको अवस्थामा अब प्रदेश र प्रतिनिधिसभामा पनि एमालेकै उम्मेदवालाई जिताउन उनले आग्रह गरे ।
विगतमा जस्तै यस निर्वाचनमा पनि जनताले एमालेका उम्मेदवारलाई मतदान गर्नेमा आफू विश्वस्त रहेको उनले बताए ।