काठमाण्डौ । स्थानीय तहको निर्वाचन र प्रदेश चुनवामा जहाँ मतदाता नामावली छ, उम्मेदवार हुन चाहे त्यही स्थानबाट उम्मेदवारी दिनु पर्ने व्यवस्था छ । तर, संघीय निर्वाचनमा यो नियम लागु हुँदैन । यसैको फाइदा उठाउँदै तनहु क्षेत्र नम्बर २ का बासिन्दा प्रदीप पौडेल काठमाण्डौ क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पौडेललाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धनका आधारमा समर्थन गरेका छन् ।
तर यही निर्वाचन क्षेत्रमा नेकपा एमालेले हविवेट नेतालाई उम्मेदवार बनाएको छ । एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलसँग भिड्न प्रदीपलाई चुनौतिपूर्ण छ । अन्त कहीँ टिकट नपाएर काठमाण्डौ ५ मा आएका पौडेल पोखरेलका निकटम प्रतिस्पर्धी त हुन्, तर जित्ने आधार चाँही केही देखिदैन । पौडेल तनहुँ क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्न चाहन्थे । तर क्षेत्र नम्बर १ मा रामचन्द्र पौडेल उठ्ने भएपछि शंकर भण्डारीलाई क्षेत्र नम्बर २ मा व्यवस्थापन गर्दा पौडेलले गृह जिल्लाबाट टिकट नपाएका हुन् । २०७४ सालको निर्वाचनमा काठमाण्डौ ५ बाट उठेका डा. प्रकाशशरण महतलाई पोखरेलले भारी मतान्तरले पराजित गरेका थिए । यहीँ ठाउँमा आएका पौडेलले मत उल्ट्याएर पोखरेललाई पराजित गर्ने सम्भावना देखिदैन । गठबन्धनका नाममा माओवादी र नेकपा एसले समर्थन गरे पनि त्यो औपचारिकता मात्रै हो । किनकी यस क्षेत्रमा यि दुवै दलको मत निकै कम छ ।
पोखरेल यसअघि २०६४ र २०७० सालका दुवै संविधानसभाको निर्वाचनमा कांग्रेस नेता नरहरि आचार्यसँग पराजित भएका थिए । दुईपटक पराजय भोगेका पोखरेलले ७४ मा भने कांग्रेसका महतलाई पराजित गरे । जसका कारण यसपटक उनै महत यस क्षेत्रबाट उम्मेदवार बन्ने हिम्मत नै गरेनन् । टुरिष्ट उम्मेदवारको रुपमा पौडेल खडा भएकाले अहिले पनि ७४ कै नतिजा दोहोरिने देखिन्छ । पौडेल भने ७४ को चुनाबमा तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा माओवादीकी आशा कोइरालासँग ५ मतले पराजित भएका थिए ।
काठमाडौँ महानगरको वडा नम्बर २, ३, ४, ५ र बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६, ७ र टोखा नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ लाई संयोजन गरेर निर्वाचन क्षेत्र नम्बर ५ तोकिएको छ । उक्त निर्वाचन क्षेत्रमा लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार, हाडीगाँउ लगायतका स्थानहरू पर्दछन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको मतका आधारमा एमाले बलियो छ । एमालेका वडाध्यक्षहरुले १९ हजार ७ सय ३ मत प्राप्त गरेका थिए भने यता कांग्रेसका उम्मेदवारहरुले १४ हजार ८ सय ५३ मत ल्याएका थिए । त्यस्तै, एकीकृत समाजवादीले १ हजार ८ सय २७, माओवादी केन्द्रले १ हजार १ सय ६८ मत प्राप्त गरेका छन् ।
एमालेको मत १९ हजार ७ सय ३ देखिन्छ भने सत्ता गठबन्धनको करिब १७ हजार हाराहारीमा मत देखिन्छ । अन्य मत ३ हजार भन्दा बढी छ । स्वतन्त्र उम्मेदवारले ७ सय ८१ पाएका थिए । यदि प्रतिनिधिसभा चुनावमा समेत यस्तै प्रकारले मत खस्ने हो भने गठबन्धनका उम्मेदवार पौडेललाई हराउन पोखरेललाई खासै गाह्रो हुने देखिदैन ।
यस क्षेत्रमा १५ जना राजनीतिक दलका र १४ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा भने एमालेका पोखरेल र सत्ता गठबन्धनका पौडेलबीच हुने अनुमान गरिएको छ । तर पछिल्ला दिनमा पौडेलले पोखरेलविरुद्ध झुटो आरोप लगाएर भ्रम फैल्याएपछि उनी आलोचित बन्दै गएका छन् ।