१२ श्रावण २०८३, मंगलबार 1785250200
Banner

म एमाले होइन तर केपी ओली नेतृत्वको सरकार आउनुपर्छ : डा. मथुराप्रसाद श्रेष्ठ

काठमाडौँ – काठमाडौँ निर्वाचन क्षेत्र नम्बर-५ मा चुनावी भेटघाटमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई नागरिक अगुवा डा. मथुराप्रसाद श्रेष्ठले साथ दिनुभएको छ।

मतदातासँगको भेटघाटको दौरान श्रेष्ठ निवास पुग्नुभएका पोखरेललाई विजयका लागि शुभकामना प्रदान गर्दै नागरिक समाजका अगुवा श्रेष्ठले आम जनताले फेरि पनि एमाले नेतृत्वको सरकार चाहिरहेको बताउनुभयो ।

आम जनताले फेरि पनि केपी शर्मा ओली नेतृत्वको सरकार आउनुपर्छ भन्ने चाहना प्रकट गरेको आफूले पाएको बताउँदै उहाँले अझै सशक्त भएर लाग्न पोखरेललाई शुभकामना दिनुभयो ।

उहाँले आफू एमाले नभए पनि एमालेले जित्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको बताउनुभयो । एमाले बाहेक अरू कसैले पनि अहिलेको अवस्थामा देशको नेतृत्व गर्नै नसक्ने अवस्थामा रहेको उहाँले बताउनुभयो ।

सरकारको नेतृत्व एमाले बाहेक अरू कसैको हातमा पुग्यो भने बेइमानी र फट्याइँ हुनसक्ने बताउँदै उहाँले एमालेप्रति जनताको ठुलो आशा रहेको बताउनुभयो ।

प्रदेशसभाका उम्मेदवार दीपक निरौलासहित डा. श्रेष्ठ निवास पुग्नुभएका काठमाडौँ–५ का उम्मेदवार पोखरेलले एमालेप्रति दर्शाएको सद्भावप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले डा. श्रेष्ठको विश्लेषण नै आजको सही कुरा भएको बताउँदै देशलाई माया गर्नेहरूले एमालेलाई रोज्नुपर्ने बताउनुभयो ।