काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आइसल्याण्ड प्रस्थान गर्नुभएको छ । विश्वभरका महिला नेताहरुको समूह वुमेन पोलिटिकल लिडर डब्लूपीएलका आयोजनामा ८–१० नोभेम्बरमा हुने रेक्जाभिक ग्लोबल फोरममा भाग लिन उहाँ आज बेलुकी आइसल्याण्ड प्रस्थान गर्नुभएको हो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले विदाइ गर्नुभएको थियो ।
राष्ट्रपति आइसल्याण्ड प्रस्थानअघि उहाँलाई सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्ने बताइएको छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्किने कार्यक्रम छ ।