१ मंसिर २०८१, शनिबार 1731788228
Banner

यी हुन अहिलेसम्म विजय भएका एमालेका १४ उम्मेदवार, कसले कहाँबाट जिते ?

काठमाडौं । आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतपरणाम आउने क्रम जारी छ । प्रतिनिधिसभा अन्तर्गत पछिल्लो परिणाम अनुसार निर्वाचनमा हालसम्म नेकपा एमालेका १४ जना उम्मेदवार विजयी भएका छन् । हालसम्म एमालेका ४२ जना उम्मेदवारहरुले मतगणनामा अग्रता कायम गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । मतगणनाको अन्तिम परिणाम अनुसार ओलीले ५२ हजार ३१९ मतले बिजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै लमजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङलाई ३ हजार १ सय ८८ मतले पराजित गर्नुभयो । निर्वाचित गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गर्नुभएको छ।देव गुरुङले मंसिर ४ गते भएको निर्वाचनमा ३१ हजार ७ सय ८१ मत प्राप्त गरे भने विजयी पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै अघाँखाँची १ बाट टोपबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझीले ४२ हजार ६ सय ७५ मत लिएर विजयी हुनुभएको हो ।

त्यस्तै कास्की २ बाट विद्या भटटराई निर्वाचित हुनुभएको छ । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेललाई पराजित गर्नुभएको हो । भटटराईले १६ हजार ९९८ मत प्राप्त गदै विजय हासिल गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कंडेलले १२ हजार ४ सय ९५ मत प्राप्त गर्नुभयो ।

त्यस्तै प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं ९ बाट नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ विजयी हुनुभएको छ। श्रेष्ठले १० हजार २० मतसहित विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ८७२५ मत प्राप्त गर्नुभएको छ ।

ललितपुर २ मा एमालेका प्रेमबहादुर महर्जनले जित हासिल गर्नुभएको छ । उहाँले १९ हजार ८ सय ३४ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १० हजार ४ सय ४० मत ल्याउनुभएको छ । त्यसैगरि गुल्मी २ मा एमालेका उम्मेदवार गोकर्ण राज विष्ट विजयी हुनुभएको छ। उहाँले नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई पराजित गर्नुभयो। विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गर्दा झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त भयो । त्यस्तै, ताप्लेजुङमा पनि एमालेका योगेशकुमार भट्टराई विजयी हुनुभएको छ । । उहाँले २१ हजार ९ सय ४३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७ सय ३५ मत प्राप्त गर्नुभयो ।

त्यस्तै प्रदेश नं. १ को उदयपुर २ मा पनि एमालेले जित हासिल गरेको छ । त्यहाँ नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडालाई पराजित गर्दै एमालेका अम्बरबहादुर रायमाझीले जित हासिल गर्नुभयो । रायमाझीले १५ हजार २ सय ५१ मत प्राप्त गर्दा खतिवडाले १२ हजार ८ सय ९३ मत मात्र प्राप्त गर्नुभयो ।

त्यस्तै पर्साबाट राजकुमार गुप्ता निर्वाचित हुनुभएको छ । गुप्ताले २४ हजार दुई सय ६० मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । त्इस्तै प्यूठानबाट नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं प्यूठान इन्चार्ज सूर्य थापा विजयी हुनुभएको छ । थापाले ५ हजार २ सय ७४ मतान्तरले प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेकी राजमोकी दुर्गा पौडेललाई पराजित गर्नुभयो ।

त्यस्तै मकवानपुरको प्रतिनिधिसभा क्षेत्र २ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ । उहाँले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा एकिकृत समाजवादीका बिरोध खतिवडालाई पराजित गर्नुभएको हो । बर्तौलाले ३४ हजार ६ सय १६ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी खतिवडाले ३० हजार ३ सय ९४मत प्राप्त गरे । त्यस्तै झापा २ बाट देवराज घिमिरे, रुपन्देही २ बाट बासुदेव घिमिरेले बिजय प्राप्त गर्नुभएको छ ।