जनताको बहुदलीय जनवादले जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व हासिल गर्नु पर्छ भनेको देखिन्छ । तर समग्रतामा जनताको मन जित्ने सोचका साथ धेरै नेताले काम गरेको देखिन्न । देश र जनताको हित र उत्थानमा विकास निर्माणका काम गर्ने पर्छ तर त्यसका आधारमा मात्र चुनाव जितिँदैन । चुनावमा उम्मेद्वार हुने नेताको व्यवहार,बोलीचाली, आनीबानी र आचरण पनि महत्वपूर्ण हुन्छ । सबै हिसावले जनताको मन जित्ने काम नगर्दा कतिपय नेताले चुनावमा हार व्यहोर्नु परेको देखियो । मैले एक नेतालाई १० वर्ष अघि तपाईंको अन्तर्मुखी स्वभावका कारण चुनावमा हार्नु भएको हो भनेकै थिएँ । वहाँले यो लेख पढ्दै हुनुहुन्छ, बुझ्नुहुन्छ । अहिले नै म भन्छु धेरै विशेषता भए पनि केही नेता चुनावका लागि योग्यता राख्तैनन् । विशेषतः एमाले जत्तिको देश र जनताका लागि मरिमेटेर लाग्ने कामको परिणामबाट नै देश र जनताका हितमा काम गरेको पार्टी किन निर्वाचनमा कमजोर भन्ने विषयमा केही सत्यतथ्य केलाउँ ।
कमजोर प्रचार प्रसार
सुनसरी १ क्षेत्रको अन्तिम चुनावी सभामा पार्टी स्थायी समिति सदस्यले सर्वसाधारण आम मतदाता समक्ष भाषण गरेको सुनेँ उनी शक्ति पृथक्कीकरण बारे सविस्तार मन्तव्य व्यक्त गरे । अर्थात् गठबन्धनले गरेका जनघात र राष्ट्रघातका बग्रेल्ती विषय छन् । त्यसलाई केन्द्रमा राखेर प्रचार प्रसार गरेको खासै पाइएन । महाकालीमा मारिएका जयसिंह धामी,महाकालीको आकासमा भातीय सैनिक हेलिकेप्टरले लगाएको चार चक्कर, सात मन्त्रालयका ठाउँमा सबै प्रदेशमा १५ भन्दा बढी मन्त्रालय बढाएको,६–६ महिनामा मन्त्री फेर्दै ब्रह्मलुट मच्चाएको विषय,असलग्न पराराष्ट्र नीति अमेरिकाका पोल्टामा हालिदिएर नेपाललाई युद्ध मैदान बनाउन खोजेको, २४ लाख कोराना खोप हराएको तर चोर पत्ता नलगाउने सरकार नै चौरकर्ममा लिप्त,बजेट निर्माणमा बिचौलिया प्रयोग गरेर करका दरमा भारी परिवर्तन गर्ने, ओली सरकारका पालामा ३ प्रतिशत महँगी अहिले अक्कासिएको आदि जस्ता जनताका जीवनमा अत्यन्त प्रभाव पार्ने तिनको मन छुने विषय प्रायः एमाले नेताहरुले राम्ररी प्रवाह गरेको पाइएन । अरु त अरु ओली सरकारका देश र जनता हितका तमाम कामहरु समेत ओझेल परेको देखियो ।
तुइन बिस्थापित गरिएका ठाउँका जनताले र ७ लाख ५० हजार निर्मित आवासमा बसोबास गरेका जनताले र भारतबाट पाइपबाट पेट्रोलियम पदार्थ ल्याएको आदि अनेक जन राहत र सरोकारका कामका आधारमा एमालेलाई मतदान नगर्ने कुरै छैन तर राम्रो कुरा पनि बारबार र हजारबार विभिन्न लोली र बोलीमा भन्नुपर्छ क्या । चामल बेच्न नसकेर रुनु कराउनु जस्तो दुभाग्र्य केही हुँदैन । एमाले र ओलीलाई विरोधीहरु प्रतिगामी भन्ने कुरामा केन्द्रित गरेर प्रचार गर्छन् धेरै पटक भनेपछि त्यही कुरामा मात्र जनताले सुन्छन् र पत्यार पनि गर्छन् तर ओली बाहेक एमाले नेताहरुले भने गठबन्धनको जनघात र राष्ट्रघातलाई ध्ुरीमा राखेर प्रचार गरेको देखिएन । जब केन्द्रमा प्रहार गरिँदैन तब सम्म निसानामा गम्भीर चोट पर्दैन । अझ कतिपय अगुवा कार्यकर्ता र बुद्धिजीवीलाई नै पनि गठबन्धन र तालमेलका बीचको आकास जमिनको अन्तर नै थाहा छैन । पार्टीले यस्ता विषयमा आम कार्यकर्ताका बीच चुनावी अभियान सँगै जोडेर देशव्यापी अभियान सञ्चालन गरेको देखिएन । विषय वस्तु बारे आफैँ स्पष्ट र खुलस्त नभई काम गर्ने जाँगर राम्ररी पलाउँदैन र आधा मनले गरेको काम अधुरै हुन्छ । विचार केन्द्रित कार्यकर्ताले नै आम मतदातालाई प्रभावित घरदैलोमा मात्र केन्द्रित गर्दा तिनै अस्पष्ट कार्यकर्ता अनेक खालको दवाव र प्रभावमा परेर अन्यत्रै मतदान गरेको पनि थाहा भयो । नत्र चुनावमा पार्टी जित्ने र अनि उम्मेद्वार नेता हार्ने कुरा कसरी हुन्छ । यसको अर्थ पार्टी ठीक तर उम्मेद्वार त्यस अनुसार कमजोर रहेको स्पष्ट हुन्छ । यही लेखकलाई तीतो अनुभव छ के छ भने लेख, टिप्पणीहरु प्रकाशित गर्ने पत्रिकाकै अभाव महसुस भयो । एकाध मिडिया र सामाजिक सञ्जालमा भर परेर प्रचार देश व्यापी तथा प्रभावशाली हुँदैन । मिडिया क्षेत्रमा यस्तो कमजोरी देख्दा अचम्म लाग्छ । एक त लेखककै कमी छ र भएका लेखकहरुका लेख तत्काल प्रकाशित नहुने टीठ लाग्दो अवस्था भोगियो । एमाले विरोधीलाई तत्काल जस्तालाई त्यस्तै नगरेर मतदाताको मनोबल बढ्दैन । यसरी प्रचार प्रसारको बहुआयामिक प्रभाव भुई तहमा प्रवाह नगरी सत्य कुरा ओझेल पर्छ अनि कसरी निर्वाचनमा कसरी अपेक्षित जित हासिल हुन्छ ? एमालेको प्रचार हात्तीको मुखमा जिरा सरह देखियो ।
उम्मेद्वारको ठस्के स्वभाव
पार्टीको नेता हुनु र पार्टी सञ्चालन गर्न सजिलै छ । तर चुनावमा जित हासिल गर्न त्यति सजिलो छैन । चुनावमा आम मतदातालाई सबै हिसावले खुसी पार्नुपर्छ । यही लेखकले धेरै नेतालाई ठस्के अनुहारका देखे भेटेको छ र यस्ता स्वभावका बारेमा यस लेखकले सुझाव दिँदा नै नेता आफूसित उग्र रुपमा रिसाएको पाएको छ । पार्टी अध्यक्ष जनमैत्री स्वभावका र अत्यन्त मिजासिला हुनुहुन्छ तर उहाँका विशेषता एमाले नेताले नै नसिकेको देखिन्छ । उहाँले मित्रलाई मित्रको आँखाले हेनर््ु पर्छ, सत्य कुरा पनि अप्रिय रुपमा भन्नु हुँदैन भन्नु हुन्छ । तर धेरै नेताले हाँस्न, मिजासिलो रसिलो र सरल ब्यवहार पाइन्न । यस्तो बानी परेको उम्मेद्वारलाई आम मतदाताले मन पराउँदैनन् । चुनावी अभियानका बेला यस्ता विषय समीक्षाको विषय बन्दैन, ताकि भोलि त्यो बानी सुध्रियोस् । पार्टीकै कार्यकर्ता पनि नेताका यस्ता बेहोराबाट आजित भएका हुन्छन् । अझ बुद्धिजीवी,कवि,लेखक तथा कलाकारहरुलाई गर्ने परोक्ष उपेक्षाभाव यही लेखकले बेहोरेको छ । नेका नेता शेखर कोइराला परिचयका क्रममा तपाई लेखक पनि हो नि भनेर मिजासिलो व्यवहार गर्नु हुन्छ । तर उहाँसित चुनावमा प्रत्यासी बनेका नेता हामी जस्तालाई मान्छेमा नै गणना गर्दैनन् । यस्ता बेहोराले त घरपरिवारको पनि मन जित्न सकिन्न अरुको त कुरै छाडौँ । चुनावी प्रचारका क्रममा गाडीबाट ओलिँदाको बडप्पनपूर्ण हाउभाउ र मतदाताले गरेको नमस्कार कन्पारातिरबाट नमस्कार फर्काएपछि मुस्कान सेवा हुन्छ ?
एउटा मुस्कानबाट लाखौँ मुस्कान पाइन्छ । साच्चो मुस्कानमा सम्पूर्ण मुहार हाँस्छ ,आँखा,नाक,मुख र मुखमण्डल हाँस्छ । तर चुनावका मुखमा मात्र गरिएको र गर्न खोजेको मुस्कन मात्र नाटक हुन्छ । एउटा उम्मेद्वारको मुहार प्रायः हँसिलो र रसिलो हुन्छ । यस्तालाई भोट दिउँदिउँ जस्तो लाग्छ । मलाई के लाग्छ भने कतिपय नेता चुनावका लागि नै उपयुक्त पात्र होइनन् । तिनले पार्टीका अरु नै कुनै विभागीय जिम्मेवारी लिँदा उपयुक्त हुन्छ । किनकि ठस्कान सेवाका नेता कहिल्यै चुनावमा सफल हुँदैनन् । एमाले केन्द्रीय कार्यालयका पूर्व सचिवले एक अन्तर्वार्तामा पत्रकारले सोधेको प्रश्नको जवाफ सुनेर यो लेखक तीन छक्क परेको थियो । पत्रकारले ती नेतालाई तपाईंले भनेको जनताले पत्याउनै पर्छ र मान्नै पर्छ भन्ने के छ भनेर प्रश्न गर्दा ती नेताले हामीले भनेको जनताले पत्याउनै पर्छ , नपत्याइ हुन्छ भनेको सुन्दा जबज नै लजाएको आभास भयो । नेका लगायत कतिपय नेता जसकसैसित मिलनसार व्यवहार गर्छन्, चुनावका मुखमा मात्र होइन अरु नै बेला भेटहुँदा चिया खाऔँ भन्छन् । जसकसैका यस्ता नरम र मिजासिलो व्यवहार सबैले सिक्दा हुन्छ । देवराज घिमिरेले, घनश्याम खतिवडा र ऋषिकेश पोखरेलले चाहिँ जित्ने र तर त्यहीँ अरु नेता चाहिँ भारी मत अन्तरले हार्ने कारण त्यहीँ भित्र खोज्दा स्पष्ट हुन्छ ।
नेताको कमजोर विगत
एमालेका नेताहरुले आफूले पाएको जिम्मेदारी कत्तिको कुशलतापूर्वक सम्पन्न गरेका छन् भन्ने कुरा चुनाव सामु अझ चर्चाको विषय बन्छ । भुलचुकमा हुने कमजोरी र जानी जानी पटक पटक कमजोरी गर्नु दुवै सामान्य होइन, विगतमा मुख्यमन्त्री, मन्त्री, माननीय र स्थानीय तहमा जिम्मेवारी सम्हाल्दाका सबै गतिविधि जनता र कार्यकर्ताले बहुतै ख्याल गरिररहेका हुन्छन् । कार्यकर्ता र जनतालाई लटपट्याइ हालिन्छ भनेर हुँदैन । भविष्य नहेरी भाग मात्र हेर्दा चुनावी परिणाम प्रत्युत्पादक भएको देखिन्छ । यस्तो चरित्र र चिन्तन जबजको ठीक विपरीत हो । पार्टी अध्यक्ष ओलीले घोषणा पत्र सार्वजनिक गर्ने क्रममा पार्टीका नेताहरुलाई आफू सामुन्ने राखेर सबैलाई आर्थिक भौतिक लोभ लालचमा नपर्न पित्र बुझाउने गरी भन्नु भएको थियो । यो उहाँले एमालेकै नेतालाई नै पनि भन्नु भएको हो । बुझ्नेले यो कुरा सजिलै बुझ्छन् । ओली सकेसम्म जूनझैँ सम्झाउनु हुन्छ धेरैले अटेर गरेको देखिन्छ । ओलीलाई भतभती पोल्ने घाम सरह नेतालाई सम्झाउने सुझाव म दिन चाहन्छु । जब्बर बनेको दिमागी अपचलन सजिलै जाँदैन । पार्टी महासचिव शंकर पोखरेल र उपसचिव प्रदीप ज्ञवालीले मुख्य मन्त्री र मन्त्री भए पछि कार्यकालका सबै आर्थिक विवरण पारदर्शी रुपमा जनसमक्ष किन राख्न किन जरुरी थियो ? उहाँहरुले आदर्श संस्कार बसाउन खोज्नु भएको हो । सुनसरी र अझ इटहरी मै एकाध नेताका अत्यन्त संकीर्ण हेर्नै र भन्नै नसकिने गुटगत कारण कार्यकर्तामा असन्तोषको भूसको आगो पुत्पुताइरहेको छ । मसिनो गरी हेरेर समाधानको उपाय अपनाइएन भने स्थिति विस्फोटक हुनेछ । यस्ता जिल्लामा कार्यकर्ताका इमान,जमान र योगदानबाट जित हासिल हुनसक्छ । यसमा आफैँ मात्र जस लिनखोख्नु जाती हुँदैन ।
नेताको सकीर्ण घेरा
माधव नेपाल कालको अत्यन्त निकृष्ट र संकीर्ण गुटगत घेरा एमाले पार्टीमा कतैकतै अझै व्याप्त देखिन्छ । नेपालकै संगतमा लामो समय लागेको हुँदा ओलीको खुलाखुलस्त र पारदर्शी गतिविधि तिनले अझै मन पराएको देखिँदैन । स्थानीय तहको निर्वाचनमा कार्यकर्ताले सर्वसम्मत रुपमा तय गरेका वा सिफारिस गरेका वार्ड अध्यक्षहरु र सदस्यलाई जवर्जस्ती हटाएर अनेक चलखेल गरेको यस लेखकलाई थाहा भयो । यस्ता गतिविधि सुनसरीमा त धेरै देखियो अन्यत्र के कसो भएको छ नियाल्नु पर्छ । पार्टीका हरकाममा आफ्ना हुक्केबैठके र यस म्यानको रजगजी देख्दा देख्नेलाई नै लाज लाग्छ । बुद्धिजीवी,लेखक र स्रष्टा अलि विवेक र विचार राख्ने हुनाले होला तिनलाई पूरै उपेक्षा गरिएको देखिन्छ । तिनलाई सामान्य मतदाता सरह पनि गनिँदैन । बुद्धिजीवी परिषद्,सुनसरीका जिम्मेवार व्यक्ति पनि यसो भन्छन् । पार्टी अध्यक्ष ओली र अरु एकाध नेतालाई खुसी पार्ने अनि सबलाई छानीछानी भित्ता पु¥याउने काम सर्वत्र देखिन्छ । यसपालि केही जिल्लाको समानुपातिक र प्रदेशको प्रत्यक्षमा जुन मनोनयन गरियो, त्यसले आम जनता र मतदातालाई अत्यन्त निराश बनाएको पाइयो । अध्यक्षकै आँखा छलेर केही काम भएको यस लेखकले थाहा पाएको थियो । अहिले पनि यस्तै हुँदैछ भने भगवान् भरोसा बाहेक अरु के गर्न सकिन्छ र ?
जबज विपरीत चरित्र
पार्टी अध्यक्ष ओलीसितको प्रत्यक्ष संवादमा यस लेखकले आम पार्टी पङ्तिमा जीवन शैली परिवर्तन गर्ने कुरामा विशेष ध्यान केन्द्रित गर्नु पर्ने कुरा जाहेर गरेको थिएँ । माक्र्सवाद र अझ जबज अनुसार सबै नेताले पहिले आफूलाई बदल्ने प्रयत्न गनुृ पर्छ ,कम्तीमा आफैँबाट सुरु गर्नु पर्छ । भन्न त ओलीले पटक पटक सबै नेतालाई सामु राखेर विनम्रता,मीठो बोलीवचन,मैत्रीपूर्ण सरसम्बन्ध,सबै खालको अनु्शासन कायम राख्ने जस्ता विषयहरु बारबार उल्लेख गनुृ भएको छ । जबज पढेका तर त्यसलाई राम्ररी नबुझेका र आत्मसात् त झन् नगरेका नेताहरु टापटिप साइँला द्यौसिरेमै रमाउने खतरा देखिन्छ । यसो भयो भने अहिले व्यापकत मात्रामा एमाले सभामा जुन जनसहभागिता उर्लिएको छ । यो धेरै दिन रहँर्दैन । र पार्टीको अहिलेको जुन रापताप र प्रताप छ ,त्यो पनि यही रुपमा रहन सक्तैन ।
चुनावमा एक्लो ओली
अन्धकार मास्न हजार ताराभन्दा एउटै चन्द्रमा काफी हुन्छ भनेझैँ पार्टी अध्यक्ष ओली बहुआयामिक तथा प्रभावशाली रहेको यही चुनावी अभियानमा पनि देखियो । यस्ता महागुरु पार्टीमा हारदा पनि उहाँका धेरै जसो सकारात्मक गुण सिक्न नचाहने र नसिक्ने नेताको ध्यान देश र जनता प्रति कम छ वा छैन भन्दा हुन्छ । हाँस्न ,हिड्न र बोल्न पनि नजान्ने भए पछि एउटा नेतामा हुनु पर्ने गुण क्षमता र विशेषता कुरा के बाँकी चाहिँ रह्यो र । एमाले उग्र विरोधीलाई राम्ररी छाँस्न नसक्ने नेता के नेता । आफ्ना पार्टी र यसको सरकारले गरेका तमाम उपलिब्धि जनतालाई मख्ख पार्ने गरी खरर भन्न नसक्ने नेता के नेता ? लाए अह्र्राएको मात्र गर्ने नेता, नेता हुँदैन । एमालेमा एक्लो ओलीको प्रभाव,रापताप र प्रतापबाट यति हुनु सामान्य होइन । सबै नेता तन,मन दिएर लागेको भए एमालेको विजय पताका निक्कै अग्लो हुने थियो । गरे जस्तो गर्ने, लागे जस्तो गर्ने र आधा मनले गरेको काम आधा मात्र हुन्छ ।