९ मंसिर २०८१, आइतबार 1732466070
कला/साहित्य

वरिष्ठ पत्रकार अधिकारी र साहित्यकार गिरी सम्मानित

काठमाडौं- मुलुकको पत्रकारिता क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीलाई सम्मान गरिएको छ । ज्ञानगुन प्रतिष्ठानद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंह र भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेलले उहाँलाई ‘रुक्मणिराज सिवाकोटी स्मृति पत्रकारिता सम्मान’ प्रदान गर्नुभयो ।

विश्वविख्यात रोयटर्स, बिबिसीलगायत समाचार समिति र दि टाइम्स पत्रिकामा लामो समय काम गर्नुभएका अधिकारीले पत्रकारिता विधामा रही पु¥याउनुभएको योगदान तथा व्यक्तित्वका विषयमा प्रकाशित कृतिसमेत सोही समारोहमा विमोचन गरियो ।

नेपाली साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएबापत सोही कार्यक्रममा वरिष्ठ साहित्यकार गोविन्द गिरी ‘प्रेरणा’लाई स्रष्टा सम्मान गरियो । अमेरिकामा रही नेपाली साहित्यको उन्नयनमा निरन्तर पुर्‍याउनुभएको योगदानको कदरस्वरुप उहाँलाई सम्मान प्रदान गरिएको हो ।

कार्यक्रममा इतिहासविद् ज्ञानमणि नेपाल र डा महेशराज पन्त, समाजसेवी स्व रुक्मणिराज सिवाकोटी, पूर्वप्रधानन्यायाधीशद्वय धनेन्द्रबहादुर सिंह र विश्वनाथ उपाध्यय, सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहलगायत महानुभावको व्यक्तित्व र योगदानका विषय समेटेर प्रकाशित कृति विमोचन गरियो ।

सो अवसरमा प्रा डा पोखरेलले भाषा, साहित्य, न्याय र समाजका अरु विधामा कीर्ति राख्ने र कृति प्रकाशन गरी गौरव राख्ने व्यक्ति नै मृत्युञ्जय हुने गरेको बताउनुभयो । पूर्वन्यायाधीश सिंहले ज्ञानगुन प्रकाशनका संस्थापकले युगमा विरलै हुने आफनोसहित एउटै कार्यक्रममा १२ वटा पुस्तक लोकार्पण गर्ने अवसर प्रदान गरेको भनी धन्यवाद ज्ञापन गर्नुभयो ।