७ जेष्ठ २०८३, बिहिबार 1779379442
पर्यटन

मुस्ताङका अनाज लुम्बिनी राष्ट्रिय महोत्सवमा

लुम्बिनी राष्ट्रिय महोत्सवमा राख्नका लागि मुस्ताङमा उत्पादित अनाज भैरहवा ल्याइएको छ । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीको आयोजना हुने महोत्सवमा स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका शङ्करलाल विश्वकर्माले त्यहाँ उत्पादित अग्र्यानिक फलफूल तथा अन्य खानेकुरा महोत्सवमा राख्नुभएको छ ।

मुस्ताङको रातो मुरली मकै, स्याउको सुकुटी, आलु चिप्स, टिमुरको छोप, टिमुर, टिमुरको गे्रबी छोप, जिम्मु, एभ्रिकोट जाम (खुरपानी), खुरपानीको सुकुटी, बाटेको धुप, स्याउको मिठाइ, मार्फाको ब्राण्डी, पे्रmस च्याउलगायत खाद्य पदार्थ रहेका विश्वकर्माले जानकारी दिनुभयो । मार्फा ब्राण्डका उत्पादित चिजवस्तु बजारसँग जोड्ने र हिमालमा उत्पादित वस्तु सहरमा बसोबास गर्नेले पनि स्वाद लिन पाऊन् भन्ने उद्देश्यले भैरहवा मेलामा स्टल राखेको मेला आयोजक समितिका संयोजक भीष्म न्यौपानेले बताउनुभयो ।

मुस्ताङमा घरेलु उद्योग रहेको र त्यहाँ उत्पादित सामग्री मेला–महोत्सवमार्फत बजारीकरण गर्दै आएकाले महोत्सवमा पहिलो दिनदेखि व्यापार बढिरहेको आयोजकको दाबी छ । मङ्सिर २३ गतेदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवमा मुस्ताङको उत्पादन भैरहवावासीले मन पराएको विश्वकर्माले बताउनुभयो । सिद्धार्थ उद्योग वाणिज्य सङ्घले घरेलु उत्पादन, कुटिर उद्योग र कृषि उत्पादनलाई प्राथमिकता दिई सहुलियतमा स्टल उपलब्ध गराएको छ । मेलामा मुस्ताङबाट मर्चवारसम्मका उत्पादन राखिएको सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देहीका प्रचार समिति संयोजक कृष्णप्रसाद घिमिरेले जानकारी दिनुभयो । मेलालाई व्यापारिक हिसाबले नभई प्रवद्र्धन गर्ने र आर्थिक चलायमान बनाउने उद्देश्यले मेला आयोजना गरिएका लुम्बिनी प्रेस क्लबका अध्यक्ष तथा मेला प्रचार–प्रसार उपसमितिका उपसंयोजक नरेश केसीले जानकारी दिनुभयो ।