काठमाडौं । नेपाली सेनाले शनिबार मुलुकभर विविध कार्यक्रम गरी २६० औँ स्थापना दिवस मनाउँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।
प्रमुख अतिथिले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ । हेलिकोप्टरबाट राष्ट्रिय झण्डासहित सेना दिवसको ब्यानर प्रदर्शनी र पुष्पवृष्टि गरिनेछ । सेना दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सैनिक कला र सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् । भारतीय सेनाको गोर्खा रेजिमेन्ट र बेलायत आर्मीको टोलीद्वारा व्याण्ड प्रस्तुति हुनेछ ।
नेपाली समाजमा लोकप्रिय रहेको मादलको यही फागुन ४ गते विश्व कीर्तिमान कायम भएको प्रमाणपत्र पनि मुख्य समारोेहपछि सेनालाई त्यही हस्तान्तरण गर्ने कार्यक्रम छ । जङ्गीअड्डा मातहत मुलुकका विभिन्न भागमा तैनाथ पृतना, बाहिनी, गण, गुल्मलगायत निकायमा यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरिनेछ । नेपाली सेनाको सङ्गठन प्रमुखमा हाल प्रधानसेनापति प्रभुराम शर्मा छन् । आज स्थापना दिवस, टुँडीखेलमा विशेष कार्यक्रम हुँदै