७ जेष्ठ २०८३, बिहिबार 1779405591
समाचार

११ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरको सुनको मूल्य निर्धारण गर्दै ११ सय रुपैयाँले घटेको जानकारी दिएको छ।

गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार ६०० रुपैयाँ कायम थियो। जुन, यो साताको शुक्रबारसम्म आइपुुग्दा तोलामा १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ।

साताको पहिलो कारोबार दिन आइतबार नै सुनको मूल्य बढेर कारोबारमा आएको थियो। आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको थियो। यस्तै, सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार र बुधबार २००–२०० रुपैयाँ घटेको थियो।

यस्तै, बिहीबार ६०० रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले घटेको थियो। यस्तै, यो साता चाँदीको मूल्य समेत घटेको छ। महासंघका अनुसार गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ९० रुपैयाँ थियो। जुन, यो साताको शुक्रबारसम्म आइपुुग्दा १२ सय ७५ रुपैयाँ कायम भएको छ।