काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले आगामी निर्वाचनका लागि मतदाता पत्रको रङ हरियो राख्न थालिएको भन्दै आपत्ति जनाउनु भएको छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मंगलबार बसन्तपुरमा एमालेनिकट भ्रातृ संगठन अनेमसंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मतदाता पत्र हरियो राख्न नहुने भन्दै यसलाई सच्याउनुपर्ने बताउनु भयो ।
‘मैले सुनेको छु, चुनाव चिह्न राख्ने रे । सञ्चार माध्यममा देखेँ । तर, व्यस्त रहेकाले मैले आयोगलाई सोध्न भ्याएको छैन’, उहाँले भन्नुभयो, ‘किन हरियो राख्ने ? रुखै रुख देखियोस् भनेर ? तर, यो आयोगले निर्णय गरेको भए सच्याउनुपर्छ ।’
एमालेविरुद्ध राज्यका सबै अंग प्रयोग गरिएको भन्दै उहाँले एमालेविरुद्ध गरिएका कार्य सच्याउन अध्यादेशबाट पनि सकिने बताउनु भयो ।