काठमाडौं । नेकपा (एमाले)का तर्फबाट राष्ट्रपति पदको उमेदवार बन्नुभएका सुवास नेम्वाङले नेकपा (एकीकृत समाजवादी)को कार्यालयमै पुगेर भोट माग्नुभएको छ ।
बिहीबार एमाले नेताहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ र विमला राई पौड्याललाई साथमा लिएर नेम्वाङ काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पुग्नुभएको थियो ।
नेम्वाङलाई एकीकृत समाजवादीका नेताले आफूहरू नेपाली कांग्रेसका तर्फबाट उमेदवार बनेका रामचन्द्र पौडेलको प्रस्तावक रहेकाले तत्काल सहयोग गर्न सक्ने अवस्था नरहेको जवाफ दिए ।
“नेकपा (एमाले)का तर्फबाट पार्टी कार्यालयमै आएर भोट माग्नुभयो । यो हार्दिकताका लागि हामीले धन्यवाद दिएका छौँ,” एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले भन्नुभयो, “तर, हामी रामचन्द्र पौडेलजीको प्रस्तावक बसेकाले तत्काल सहयोग गरिहाल्ने अवस्था छैन । हाम्रो पार्टीको सचिवालयले गरेको निर्णय पनि छ । त्यो कुरा उहाँहरूले पनि बुझ्नुभएको छ ।”
खतिवडाले एमालेका तर्फबाट सकारात्मक प्रयास भएको भन्दै यसले भोलिका दिनमा सहकार्यको ढोक खोल्ने बताउनुभयो ।
भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव बेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला तथा सचिवालय सदस्य रामचन्द्र झा सहभागी हुनुभएको थियो ।