काठमाडौँ । स्ववियु निर्वाचनको कार्यतालिका शुक्रबारदेखि सुरु हुँदैछ । चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचनको लागि शुक्रबार संघ, संगठन र समूह दर्ता गर्ने कार्यक्रम छ। कुनै पनि राजनीतिक दलको भातृ संगठनले एउटा बाहेक अर्को संगठन दर्ता गर्न पाइँदैन।
त्यस्तै विद्यार्थीहरूले समूह बनाएर पनि स्ववियु निर्वाचन लड्न पाइनेछ। राजनीतिक दलका विद्यार्थी संगठनहरू बाहेकका स्वतन्त्र व्यक्तिहरू समूह बनाएर निर्वाचनमा भाग लिन पाउनेछन् ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य-सचिव तथा विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले संघरसंगठन छैन भनेपनि समूह दर्ता गर्न पाउने बताए।
विगतको अभ्यास अनुसार नै संयोजकसहित ११ सदस्यीय कमिटी बनाएर क्याम्पसमा समूह दर्ता गराउन सकिने उनको भनाई छ।
त्यसका लागि उक्त समूहको बैठक बसेर माइन्युट गरेको र त्यसको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने हुन्छ। उक्त बैठकले एक जना संयोजक तोकेको र त्यसको छाप समेत बनाएको हुनुपर्नेछ । समूहलाई क्याम्पसमा दर्ता गराउनेका लागि विधान भने आवश्यक नपर्ने उनको भनाई छ।
त्यस्तो समूहले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको मत पाउनेछ। स्वतन्त्र रूपमा उठेका व्यक्तिहरूले भने प्रत्यक्षको मात्र मत पाउनेछन्। उनीहरूलाई समानुपातिकको मत जानेछैन।