७ मंसिर २०८१, शुक्रबार 1732309575
Banner

पितपत्रकारिता होइन, जिम्मेवार पत्रकारिता आवश्यक छ : अध्यक्ष ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पत्रकारले जिम्मेवार भएर कलम चलाउनुपर्ने बताउनुभएको छ । एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको नवौँ महाधिवेशनको शुक्रवार पोखरामा उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले अधिकार सम्पन्न प्रेस जिम्मेवार र आफना कर्तव्यप्रति सजग भएर प्रेसले न्याय र सत्यका पक्षमा उभिनुपर्ने बताउनुभयो ।

ओलीले पत्रकारहरुलाई जनादेशको समर्थन गर्ने कि परमादेशको समर्थन गर्ने ? भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो– ‘तपाई परमादेशको समर्थन गर्ने कि जनादेशको ? सबैलाई खुसी पार्न सकिँदैन । परमादेशका नाममा जनादेशको माखौल उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ ।’
आफू नेतृत्वको सरकार ढाल्नको लागि सर्वोच्च अदालतले संविधान बाहिर गएर फैसला गरेको बताउनुभएको छ । यस्लाई उहाँले गोरु ब्याएको रुपमा बुझ्नु पर्ने बताउनुभयो ।

‘एकजना न्यायाधीशको इमेल आउँछ अमेरिकाबाट केपी ओलीको सरकार ढाल्नु नै थियो, न्यायाधीशको के बिगारिदिएको थियो ओली सरकारले ? त्यहाँनेर विकास विरोधी षड्यन्त्रको हिस्सेदार थियो । संविधान बाहिर गएर पनि ढाल्नु पर्ने थियो,’ ओलीले भन्नुभयो, ‘गोरु ब्याउँदैन भन्थे ब्यायो सर्वोच्च अदालतमा, यो २०५१ सालमा एकजनाले भनेका थिए । अहिले गोरु ब्यायो मात्र होइन पाँचवटा बाच्छा पायो ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्चमा न्यायाधीशहरूले आन्दोलन गरिरहेको बेला सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाले अमेरिकाबाट एउटा इमेल पठाएको प्रशंग भन्नुहुँदै ओलीले उक्त इमेलमा आफ्नो सरकार ढाल्न न्यायाधीशहरूले खेलेको भूमिका छताछुल्ल भएको बताउनुभयो ।

अध्यक्ष ओलीले संसदले सरकार बनाउने अधिकार समेत परमादेशबाट खोसिएको भन्दै मुलुक अहिले दुई धारमा बाँडिएको बताउनुभयो । मुद्दा मामिलाबाट सरकार बनाउने जाली फटाहाको राजनीति एउटा र जनादेशमा आधारित राजनीति अर्को दिशामा रहेको उहाँले बताउनुभयो ।