काठमाडौं । नेविसंघको त्रिभुवन विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी ३ जनालाई दिइएको व्यहोराको पत्र सार्वजनिक भएको छ ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको व्यहोराको पत्र सार्वजनिक भएको हो । यो सँगै त्रिविमा नेविसंघको ३ जना आधिकारिक अध्यक्ष भएका छन् ।
अध्यक्ष शेर्पाले सुरुमा कैलालीका विष्णुबहादुर बडैलालाई अध्यक्षमा मनोनीत गरेका थिए । तर पछि दीपक र गणेशलाई पनि अध्यक्षमा मनोनीत गरेको पत्र सार्वजनिक भयो ।
चैत ७ गतेको मिति र अध्यक्ष शेर्पाको हस्ताक्षर भएको पत्रमा ३ महिनाभित्र समितिको अधिवेशन सम्पन्न गर्ने गरी विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी दिइएको उल्लेख छ ।
त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचनमा विष्णु र दीपकले आधिकारिक उम्मेदवार श्यामराज ओझाविरुद्ध उम्मेदवारी दिएका थिए । तर पछि ओझालाई सघाउने गरी उनीहरुले बागी उम्मेदवारी फिर्ता लिएका थिए ।
ओझा स्ववियु सभापतिमा निर्वाचित भएलगत्तै विष्णु र दीपकसँगै गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिइएको पत्र सार्वजनिक भएको हो ।
नेविसंघभित्र गुटगत विवाद तीव्र छ । अध्यक्ष शेर्पाको कार्यशैलीमा प्रश्न उठाउँदै असन्तुष्ट पक्षले उनको राजीनामा समेत माग्दै आएको छ ।
स्ववियु निर्वाचनको पूर्वसन्ध्यामा नेविसंघ काठमाडौंका नेताहरुले पत्रकार सम्मेलन नै गरेर शेर्पाले मनलाग्दी नियुक्ति र निर्णय गरेको पत्र पठाएर आतंक सिर्जना गरेको आरोप लगाएका थिए । त्यस्ता काम नरोकिए आन्दोलन गर्ने चेतावनी पनि उनीहरुले दिएका थिए ।