काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको छ । बर्दिया, बारा, सुनसरी लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको हो । बर्दियाको राजापुर नगरपालिका–८ भोगपुरस्थित सडकमा भोगपुरबाट सडुवातर्फ जाँदै गरेको से७प ५७३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक गेरूवा गाउँपालिका–३ लोहरपुर बस्ने ४० वर्षीय हरिराम थारुको शनिवार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बर्दिया जिल्ला अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै, बाराको कोल्हवी नगरपालिका–२ न्यौपाने टोलस्थित सडकमा तामागढीबाट कोल्हवीतर्फ आउँदै गरेको म.प्र.०३–०३३ प ४८६४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २८ वर्षीय अमित मोक्तानको शनिवार राति मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नारायणी अस्पताल वीरगन्ज पर्सामा उपचारको क्रममा मृत्यु भएको हो । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचार भइरहेको छ ।
उता, सुनसरीको इटहरी उपमहानगरपालिका–१३ गणेश पेट्रोलपम्पस्थित सडकमा प्रदेश १–०४– ००१ ख ०००८ नम्बरको ट्रकले बा.प्र.०२–०२५ प ३१३६ नम्बरको मोटरसाइकललाई शनिवार राति ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ विराटनगर महानगरपालिका–९ बस्ने २७ वर्षीय
इस्पस अर्याल र मोटरसाइकलमा सवार सोही महानगरपालिका–२ तिनपैनी बस्ने २८ वर्षीय शाश्वत पोखरेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।


