९ मंसिर २०८१, आइतबार 1732482652
Banner

प्रहरीले नागरिकको मुख थुन्न मिल्छ ? विमला राई पौड्याल

काठमाडौँ – राष्ट्रियसभा सदस्य एवम् पूर्व परराष्ट्रमन्त्री विमला पौड्याल (राई)ले प्रहरीले बोल्नेको मुख थुनेको विषयमा सरकारसँग जवाफ माग्नुभएकाे छ ।

 बुधबार प्रतिनिधिसभाको बैठकमा उहाँले मंगलबार सञ्चार माध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएको प्रहरीले केही युवाको मुख थुनेको तस्वीरबारे चासो राख्नुभएकाे हाे । 

पौड्यालले प्रश्न गर्नुभयाे, ‘हिजोदेखि सञ्चारजगत र सामाजिक सञ्जालमा, केही युवाहरुले बोल्न खोजिरहेको र केही प्रहरीले जबर्जस्ती मुख थुनेको, घाँटी न्याकिरहेको, लछारपछार पारिरहेको तस्वीरहरु जताततै देख्न पाइएको छ, यो किन भएको हो, ती युवाले के बोल्न खोजिरहेका थिए र प्रहरीले ज्यादती गरेको हो ? संविधानले स्वतन्त्रतापूर्वक विचार राख्न पाउने बोल्न पाउने अधिकार सबै नागरिकलाई दिएको छ । प्रहरीले बोल्नेको मुख थुन्न मिल्छ की मिल्दैन ? यसो गर्ने प्रहरीलाई गृह मन्त्रालयले कारबाही गरेको छ की छैन ? यो विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु र जवाफ माग गर्दछु ।’

मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ५८औं अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मुलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीनजना युवाले काठमाडौंको नयाँ बानेश्वरमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । नाराबाजी  गर्दा प्रहरीले युवाहरुको मुख थुनेर बोल्न दिएको थिएन भने उनीहरुलाई पक्राउ गरेको थियो । त्यस क्रममा नाराबाजी गर्ने युवाको मुख प्रहरीले थुनेका थिए । नाराबाजी गर्ने तीन युवा विरुद्ध प्रहरीले मुद्दा चलाएको छ।

प्रहरीले पक्राउ परेका सोम शर्मा, उद्धव बस्नेत र विप्लव खड्काविरुद्ध आज (बुधवार) काठमाडौँ जिल्ला अदालतबाट तीन दिनको म्याद थप्दै अभद्र व्यवहारअन्तर्गत मुद्दा चलाइएको हो ।