९ मंसिर २०८१, आइतबार 1732457647
Banner

सत्ता गठबन्धनको बैठक बिना निश्कर्ष सकियो

काठमाडौँ – सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबन्डामा गर्न बसेको बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धनको कुनै ठोस सहमति हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताउनु भयो । उहाँका अनुसार आजको बैठकमा  दलहरुबीच मन्त्रिपरिषद् विस्तारबारे प्रारम्भिक छलफल मात्रै भएको छ । 

प्रतिनिधि सभाको ठूलो दल कांग्रेसले १०, सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले ३/३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले २/२, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले एक–एक मन्त्रालय दाबी गरिरहेका छन्।      

गठबन्धनमा सम्बद्ध साना पार्टीलाई पनि समेटेर जाने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ । चैत ६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले १० गतेसम्म सरकार पुनर्गठन गर्ने बताउँदै आउनु भएको छ ।  

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो ।