९ मंसिर २०८१, आइतबार 1732458598
राजनीति

शाही कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा योगेन्द्र शाही नियुक्त भएका छन् ।

कर्णाली प्रदेश सरकारको बुधबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले शाहीलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले जानकारी दिए ।

उपाध्यक्षमा नियुक्त शाही यसअघि योजना आयोगको सदस्य थिए । शाहीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एमफिलको पढाइ सकेका छन् ।

शाही विश्व प्रजातान्त्रिक युवा संघका उपाध्यक्ष तथा नेपाल सरकारको युवा नीति २०१५ तथा युवा विकासका लागि १० वर्षे रणनीतिक कार्ययोजना युथ भिजन २०२५ को संयोजक पनि रहेका थिए ।

नेकपा एमाले परित्याग गरेका शाहीलाई नेकपा (माओवादी केन्द्र)ले गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा दैलेख क्षेत्र नं.२ (ख) बाट प्रदेशसभाको टिकट दिएको थियो । निर्वाचनमा झिनो मतले पराजित भएका शाहीलाई प्रदेश सरकारले प्रदेश योजना आयोजको जिम्मेवारी दिएको हो।

प्रदेश नीति तथा योजना आयोग ६ सदस्यीय हुन्छ, जसमा अध्यक्ष मुख्यमन्त्री र पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

आयोगमा दुईजना सदस्य पछि नियुक्त गरिने सरकारका प्रवक्ता जिसीले जानकारी दिए ।