काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ पुनः सर्वोच्च अदालत पुगेका छन् । अमेरिकी नागरिक नै रहेको अवस्था नेपालको राहदानी लिएको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै पौडेल अदालतमा पुगेका हुन् ।
लामिछाने उपर कानुन बमोजिम छानबिन गरी मुद्दा दायर गर्नु भन्दै विपक्षीहरूका नाममा परमादेश जारी गर्नुपर्ने उनको माग रहेको छ ।
आफू अमेरिकी नागरिक हुँदा हुँदै नेपाली नागरिक हुँ भन्नु र पासपोर्ट निवेदन फारम भरी नेपाली राहदानी प्राप्त गर्नु राहदानी ऐन, २०२४ को दफा ५(ख) विपरीतको कार्य र कसुर हो भन्ने कुरामा विवाद नहुँदा नहुँदै महान्यायाधिवक्ताले निज रवि लामिछाने उपर मुद्दा नचलाउने निर्णय गर्नु दुराग्रहपूर्ण छ भन्ने प्रस्ट रहेको उनले जिकिर गरेका छन् ।