२ जेष्ठ २०८३, शनिबार 1778915678
समाचार

बैतडीका ३ युवती बेपत्ता

काठमाडौं । बैतडीका ३ युवती बेपत्ता भएका छन्। मेलौली नगरपालिकाका २ र पाटन नगरपालिकाकी एक युवती बेपत्ता भएका हुन्।

मेलौली–१ सिराडकी लक्ष्मी पोखरेल सोमबार बिहानदेखि सम्पर्कविहीन भएकी हुन्। सोमबार बिहान ३ बजेतिर १ वर्षीय छोरा कोठामा एक्लै रूँदै गरेको भेटिएको र लक्ष्मी कोठामा नभेटिएको उनका देवर निराजन पोखरेलले बताए।

भाउजू सम्पर्कविहीन भएपछि खोजीका लागि तस्वदेही इलाका प्रहरी कार्यालयमा निवेदन दिइएको छ। सम्पर्कविहीन भएकी लक्ष्मीका श्रीमान राजेन्द्र पोखरेल रोजगारीको सिलसिलामा भारतको बेङ्गलोरमा छन्। उनीहरूका २ छोरा छन्।

यस्तै, मेलौली नगरपालिका–१ जर्कु सैनी निवासी २० वर्षीया पार्वती खत्री नायक गएको ६ दिनदेखि बेपत्ता भएकी छन्। यही चैत १६ गते घरबाट हिँडेकी उनी अहिलेसम्म सम्पर्कमा नआएको जनाइएको छ। पार्वतीका श्रीमान सागरसिंह नायक रोजगारीको सिलसिलामा मलेसियामा छन्।

पाटन नगरपालिका–४ जेउड्याकी १५ वर्षीया गोमती लाबड पनि ६ दिनदेखि बेपत्ता छिन्।

यही चैत १५ गतेदेखि छोरी सम्पर्कविहीन भएकी गोमतीका बुवा दिलीप लाबडले जानकारी दिए। चैत १५ गते देहिमाण्डौं जात्रामा जान्छु भनेर घरबाट हिँडेकी गोमती अहिलेसम्म घर फर्किएकी छैनन्।