रौतहट । रौतहटको गढीमाई नगरपालिकामा गोली लागेर एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।
शनिबार गढीमाई नगरपालिका–८ धोबिनियामा जग्गासम्बन्धी विवादमा दुई पक्षबीच झडप हुँदा गोली चलेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।
गोली लागेर स्थानीय राजकुमार राय यादवको मृत्यु भएको छ। विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमै मृत्यु भएको एसपी बुढामगरले बताए।
गोली कसले चलायो भन्ने खुलेको छैन। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गढीमाई नगरपालिकाको धोबिनियामा निर्माण भइरहेको बाटोको विषयमा विवाद हुँदा १२ बोरको बन्दुकको गोली प्रहार भएको प्रहरीको भनाइ छ।
गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन्। घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भईरहेको छ ।