काठमाडौं । सरकार र मिटरब्याज पीडितबीच पटक–पटक वार्ता हुँदा पनि सहमति जुट्न नसकेपछि आजदेखि पुनः आन्दोलन हुने भएको छ । मिटरब्याजी पीडित सङ्घर्ष समितिका प्रवक्ता निर्ग नवीनले आज सोमवारदेखि बालुवाटार, संसद् भवन र सिंहदरबार केन्द्रित दबाबमूलक कार्यक्रमहरू गर्ने जानकारी दिए ।
उनले जुन दिन बसे पनि एउटै कुरा दोहोरिरहेकाले सरकारी टोलीसँग वार्ता बस्नुको औचित्य नभएर ३ दिनअघि वार्ता भंग गर्दै निस्किएको र शान्तिवाटिकामा आन्दोलन जारी राखेको बताए ।विभिन्न २४ जिल्लाबाट आएका पीडितहरूले राखेका ६ बुँदे मागका विषयलाई सरकारी वार्ता टोलीले सम्बोधन नगरेपछि एकतर्फी रूपमा वार्ता भंगको घोषणा गर्दै पीडितहरू गृह मन्त्रालयबाट बाहिरिएका थिए ।
मिटर ब्याज पीडितहरूसँग गृह मन्त्रालयले चैत २६ गतेदेखि वार्ता थालेको थियो । विभिन्न चरणमा वार्ता भए पनि कानूनी विषयमा गएर अड्किएको थियो । उनीहरूले मिटरब्याजीका नाममा भएको सबै लिखत अवैध घोषण गर्नुपर्ने, आफूहरू विरुद्धको मुद्दा स्थगित र फैसला भएको मुद्दाको पुनरावलोकन हुनुपर्ने, पक्राउ पुर्जी खारेज, कारागार गएकाको रिहाइ, बैंकिङ कसूरका मुद्दा खारेज तथा मिटर ब्याजीहरूको सम्पत्ति छानबिन लगायतको माग राखेका छन् ।