काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषदको बैठक जारी छ ।
परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा बैठक बसिरहेको हो। बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का बैठकमा सहभागी छन्।
यसअघि प्रमुख तीन दलका नेताहरुको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो। नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानून व्यवसायीहरुले पनि तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिँदै आएका थिए।
चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ। हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन्।