८ मंसिर २०८१, शनिबार 1732416261
Banner

कपिलवस्तुको विजयनगरमा २६ घरगोठ जलेर नष्ट

कपिलवस्तुको विजयनगर गाउँपालिकामा आगलागी हुँदा २६ घरगोठ जलेर नष्ट भएका छन् ।

गाउँपालिको वडा नं ५ सिसवामा आज बिहान ११ बजेदेखि सुरु भएको आगो तीन घन्टापछि नियन्त्रणमा आएको वडाध्यक्ष अनवर मुसलमानले बताउनुभयो । फुसका नौवटा घर पूर्ण, १७ वटा आंशिक गरी २६ वटा घरगोठ जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । आगोले खाद्यान्न, लत्ताकपडा, कागजपत्रलगायतको सामग्री जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो ।

आगलागीमा परी एउटा पाडो जलेर मरेको बताइएको छ । मानवीय क्षति नभएको प्रहरी निरीक्षक रानाले बताउनुभयो । स्थानीय कुसुम पासीको घरबाट सुरु भएको आगोले गाउँमा भएका फुसका घरगोठ जलेका हुन् । आगलागीका कारण रु एक करोडभन्दा बढीको क्षति भएको वडाध्यक्ष मुसलमानले बताउनुभयो । आगलागीका कारण अहिले खुल्न सकेको छैन । शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका, प्रहरी सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीयवासीको सहयोगमा तीन घन्टापछि आगो नियन्त्रण आएको हो ।

आगलागीस्थलमा लुम्बिनी प्रदेश उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकी यादव पुग्नुभएको छ । अग्निपीडितका लागि राहत व्यवस्थापन गर्ने यादवले जनाउनुभयो । गाउँपालिकाका अध्यक्ष गोपाल थापाले पालिकाले पीडितहरूलाई राहतको व्यवस्थापन गर्ने बताउनुभयो ।