काठमाडौं । नापी कार्यालय चाबहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गादास महर्जनसहित सातजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
जग्गाको नक्सा आफूखुशी जोडेको र नक्सामा नभएको क्षेत्रफललाई कानूनविपरीत कित्ताकाट गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।अख्तियारले नापी कार्यालय चावहिलका तत्कालीन प्रमुख नापी अधिकृत दुर्गा दाश महर्जन, नापी अधिकृत रवि शंकर पाण्डेय र सर्भेक्षक रामनारायण यादवले मूलपानी १ख कि.नं. ७०८, ७०९, ६६६ र ८१३ को कित्ताकाट गर्ने क्रममा सरकारी कागजातको रुपमा चिनिने नक्सामा अनाधिकृतरुपमा कित्ताहरुको आकारप्रकार परिवर्तन गरी नक्सा सच्याएको आरोप लगाएको छ । यो कार्यमा मालपोत चाबहिलका तत्कालीन मालपोत अधिकृत विष्णु प्रसाद काफ्ले र नायव सुब्बा उत्तम कुँवर तथा झापाको कमल गाउँपालिका २ का योगेन्द्र आचार्य , काठमाडौँ कागेश्वरी मनोहरा ९ का सिताराम अधिकारी र काठमाडौँ महानगरपालिका ९ का नविन दाहालको पनि संलग्नता रहेको अख्तियारको दाबी छ ।