९ मंसिर २०८१, आइतबार 1732472766
Banner

आज १७ औं लोकतन्त्र दिवस : नेता मस्त, जनतालाई कष्ट

काठमाडौं । १७औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्र्थापना गर्नुभयो । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो ।

विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गर्नुभयो । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिनुभएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा (माओवादी)बीच १२ बुँदे समझदारी भयो ।

विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरुको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनस्र्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गर्नुभयो । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रुपमा स्थापित बन्यो ।

विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन ग¥यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले दुई सय ४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य ग¥यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपनि धेरै काम गरेको थियो ।

विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भइरहेको छ । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

वैधानिक रूपमा दुई सय ४० वर्ष इतिहास बोकेको शाह वंशको राजसंस्था नै अन्त्य हुँदासम्म राजनीतिक दललाई जनताले विश्वास गरेका थिएनन् । तर दलभन्दा पनि शाही शासन कठोर भएपछि नागरिक समाज, पेशाकर्मीसहितको सहकार्यमा आन्दोलन अघि बढेको र जनताले साथ दिएका थिए । त्यति बेला जनताले भ्रष्ट नेतृत्वलाई आन्दोलनमा समेत अस्वीकार गरेका थिए। तर, अहिले जनताले लोकतन्त्रको अनुभूति गर्न पाएका छैनन ।

यही भएर होला विगतका लोकतन्त्र दिवसलाई जनताले खासै चासो देखाएको पाइँदैन । केही वर्षयताको लोकतन्त्र दिवसमा सर्वसाधारणका सन्देशहरू नियाल्ने हो भने जनता निराश छन् ।

अहिले प्रश्न उठ्ने गरेको छ, के यही अवस्था हेर्न नागरिकले छाती र टाउकोमा गोली खाएर लोकतन्त्र ल्याएका हुन् त ? हो, लोकतन्त्र तत्काल सबल हुँदैन तर यसको प्रक्रिया हुन्छ । त्यो प्रक्रिया उन्मुख पनि देखिँदैन ।

लोकतन्त्र आए पनि जनताले अहिले लोकतन्त्र आएको अनुभती गर्न पाएका छैनन् । नेताको मनोमानी प्रवृतीले देशको अर्थतन्त्र धरासयी बन्दै गएको छ । राजनीतिक नेतृत्वमा भएको अदुरदर्शिताका कारण लोकतन्त्र नै खतरामा पर्ने सम्भवना बढ्दै गएको छ ।