काठमाडौं । प्रहरीले वैदेशिक रोजगारिका लागि अष्ट्रेलिया र दुबई पठाउँछु भन्दै ठगी गरेको अभियोगमा दुई जनालाई प्रकाउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर, वडा नं. ०४ स्थाई घर भई हाल काठमाडौं वडा नं. ०१ लाजिम्पाटस्थित माझी बिष्ट्रो रेष्टुरेण्टका सञ्चालक सञ्जय रेग्मी तथा तनहुँ भिमाद नगरपालिका वडा नं २ स्थाई घर भई हाल काठमाडौं सामाखुशीस्थित युरो टेक कन्सलटेन्सीका २६ वर्षिय मार्केटिङ मेनेजर मन बहादुर कुमाल छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएका प्रहरीले रेग्मीलाई दरबारमार्ग र कुमाललाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।
रेग्मीले अमृता गुरुङलाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाईदिने र अष्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने प्रलोभनमा पारी पटक पटक गरी ३० लाख रुपियाँ लिई सम्पर्कविहीन भएका हुन् ।
यस्तै, कुमालेले प्रेम बहादुर सुनारलाई पनि वैदेशिक रोजगारीको लागि दुबई पठाउने प्रलोभनमा तीन लाख रकम लिई सम्पर्क विहीन भएका हुन् ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको छ ।