७ जेष्ठ २०८३, बिहिबार 1779397059
Banner

ममाथि हमलाहुँदा सरकार मूकदर्शक बन्यो : अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि निरन्तर आक्रमणको प्रयास भएपनि सरकार मुकदर्शक बनेको गुनासो गर्नु भएको छ।

पार्टी निकट अखिल नेपाल किसान महासंघले आईतबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले पूर्वका विभिन्न जिल्लाहरुमा आफूमाथिको आक्रमण प्रयासमा पूर्वराजा ज्ञानेन्द्र शाह र उहाँका परिवारको संलग्नता रहेको जिकीर गर्दै त्यस्ता उदण्ड, अराजनीतिक खालको गतिविधिलाई नियन्त्रण गर्नुको साटो सत्तारुढ दलकै कार्यकर्ताहरुले ढुंगामुढा गरेको पनि बताउनु भयो।

हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने तर सरकारले त्यस्ता गतिविधिलाई नियन्त्रण नगरेको उहाँको भनाई थियो । ओलीले हरेक ठाउँमा २० जनाजति उही समूहका मानिसहरुले आफूमाथि आक्रमण प्रयास गरेपनि त्यसलाई नियन्त्रण गर्न सरकारले नचाहेको आरोप लगाउनु भयो। उहाँले वर्तमान गठबन्धन सरकारले मुखले जे सुकै भने पनि आफूमाथिको आक्रमणलाई नियन्त्रण नगरेको भन्दै आपत्ति जनाउनु भयो । आफूहरुमाथि गाली बेइज्जति, अश्लिल शब्दको बर्षा गर्दा पनि ती अराजक समूहलाई नियन्त्रण गर्न प्रहरीलाई माथिबाट आदेश नगएको पनि ओलीले बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘मैले हिजो, अस्ती हामी तेह्रथुम, पाँचथर, इलाम, झापा अनेक ठाउँमा हामीले कार्यक्रम गरेका थियौं । तपाईहरुले अलिअलि सुन्नु पनि भएको होला ।  कार्यक्रममा जाँदै गर्दाखरी बीचमा केही गुण्डा प्रवृत्तिका व्यक्तिहरु, अराजनीतिक व्यक्तिहरुले हमला गर्ने, पहिचानको राजनीति भनेर अराजनीतिक क्रियाकलाप गर्ने, त्यस्ता खालको क्रियाकलाप गर्ने, ढुंगामुढा गर्ने, त्यस्ता खालको कुराहरु गरे । यसको संलग्नता विभिन्नतिर देखिएको छ । ज्ञानेन्द शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत् देखिएको छ । यहाँ भित्र उनीहरुले भित्र भित्र खेलाउने, जसलाई मैले छौडा भन्ने गरेको छु । यो पूर्व दरबारीयाहरुले छौडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन । अर्को कुरा, अहिले सत्तामा हुने पार्टीका कार्यकर्ताहरु अर्काको नाममा ढुंगा हान्न त्यहाँ गएका छन । हाम्रा विरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरु यिनका मुखबाट भएको छ । त्यो म आफैंले देखेर, भोगेर आएको छु । हरेक ठाउँमा उनीहरुले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, काँही ढुंगा हान्ने, काँही भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरुले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उदण्डता र सरकार मुकदर्शक छ ।