काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका छन् ।
बुधबार नेपालगञ्जको रामलिला मैदानमा भएको नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै शाहले अहिले पनि जनताको जिवनस्तर सुधार हुन नसकेको र मुलुक पनि अप्ठेरो अवस्थामा पुगेको भन्दै पुरानो गौरव फर्काउन आह्वान गरेका हुन् ।
शाहले अहिलेको व्यवस्था र दलहरुको विरोध गर्दै राजा महेन्द्रको कालमा भएका विकास निर्माण तथा अन्य राजाको पालामा भएका विभिन्न विकास निर्माणका कामको चर्चा गरेर दलहरुलाई खबरदारी गरेका छन् ।
नीतिहरूमध्येको सर्वश्रेष्ठ नीति राजनीति भए पनि त्यस प्रकारको प्रजातान्त्रिक, त्यस प्रकारको राष्ट्रमुखी,जनमुखी र जनहितकारी हुन नसकिरहेको बताउँदै पूर्वराजा शाहले भने, हाम्रो कतिपय नीति पद्धति देश र जनताका निम्ति हुनुपर्ने हो, तर बिडम्बना भन्नुपर्छ हाम्रो राजनीति तथा हाम्रो राज्यव्यवस्था नेताद्धारा नेताका निम्ति दलद्वारा दलका निम्ति भइरहेको छ ।
उनले आफ्नो नारा जहिले पनि देश बनाउँ देशवासीको अवस्था सुधारौं, व्यवस्था र पद्धति बसालौं, जनतालाई शान्ति, सुख समृद्धि दिउँ भन्ने रहेको पनि बताएका थिए ।
ूअब म भन्छु, हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि उठौँ । हामी पाखुराका बलमा अघि बढ्न कम्मर कसौँ । यसका निम्ति के पुरुष, के महिला, के आजको जाँगरिलो युवा, के अनुभवी बुढाबुढी सबै अब जुट्नुपर्छ, उनले भने ।
पूर्वराजा शाहले उद्योगधन्दा, कलकारखाना, उत्पादन निष्प्रभावी रहेका कारण अहिले लाखौँ युवाहरू विदेशिन बाध्य भएको बताए ।