३० बैशाख २०८३, बुधबार 1778722906
राजनीति

रवि लामिछाने भेट्न पुगे ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीबीच भेटवार्ता भएको छ । शनिबार (चैत २१) बिहान लामिछानेलाई भेट्न शाही काठमाडौंको बूढानीलकण्ठस्थित उनको निवास पुगेका सभापतिको निजी सचिवालयले जनाएको छ ।

उनीहरूबीच करिब एक घण्टा भेटवार्ता भएको थियो । भेटमा संसदीय राजनीति, प्रतिनिधिसभाको उपसभामुख पदका निम्ति सम्भावित सहकार्यलगायत विषयमा छलफल भएको शाहीले जनाएका छन् ।

प्रतिनिधिसभाको सभामुख पदमा रास्वपाका उपसभापति डोलप्रसाद (डीपी) अर्याल निर्विरोध निर्वाचित भइसकेका छन् । निर्वाचित भएको घोषणा भने आइतबार  गरिने तय छ ।

सभामुख र उपसभामुख एउटै दलबाट हुन नसक्ने संवैधानिक व्यवस्था छ । सभामुख वा उपसभामुखमध्ये एक महिला हुनुपर्ने पनि व्यवस्था छ ।

रास्वपाबाट सभामुख भइसकेकाले उपसभामुख अरू दलले पाउने सम्भावना छ । उपसभामुखका निम्ति नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राप्रपालगायत विपक्षी दलले प्रयास थालेका छन् ।