८ मंसिर २०८१, शनिबार 1732386383
Banner

टोपबहादुर रायमाझीलाई खोजी गरिरहेका छौं : काठमाडौं प्रहरी प्रमुख

काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले खोजी गरिरहेको काठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले बताएका छन् ।

नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै लाखौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ पूर्जी जारी भएपछि प्रहरीले उनको खोजी थालेको हो ।

काठमाडौंमा बुधबार पक्राउ पूर्जी जारी हुँदा उनी भने अर्घाखाँचीको महेन्द्र विद्योदय माध्यमिक विद्यालयको हिरक महोत्सवमा विशेष अतिथिका रुपमा सहभागी भइरहेका थिए ।

कार्यक्रममा सभामुख देवराज घिमिरे पनि सहभागी थिए । राति ९ बजे उनी घिमिरेसँगै भैरवहा विमानस्थलबाट काठमाडौं फर्कने तयारीमा भएपनि पक्राउ परिनसक्ने भएपछि उनले स्थलमार्गबाट काठमाडौं आउने तयारी थालेका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी कार्कीका अनुसार प्रहरीले उनको खोजी गरिरहेको छ । हालसम्म रायमाझी पक्राउ परेका छैनन् । केही प्रहरी अधिकृतहरुले उनले आफू कार्यालयमा हाजिर हुने भन्दै पक्राउ नगरिदिन आग्रह गरेको बताएका छन् । तर, काठमाडौं प्रहरी प्रमुख कार्कीले आफूलाई त्यस्तो कुनै फोन नआएको बताए ।