८ मंसिर २०८१, शनिबार 1732359217
Banner

जग्गा विवादमा सशस्त्रका डिएपी पंकज पौडेलले कुटे छिमेकी

काठमाडौं । सशस्त्र प्रहरी बलको काभ्रे गणका प्रहरी नायब उपरीक्षक (डीएसपी) पंकज पौडेलविरुद्धको जोहरी प्रहरीले दर्ता गर्न मानेको छैन ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित घर अगाडि छिमेकीसँग भएको जग्गा विवादमा सर्वोच्च अदालतले ‘स्टेअर्डर’ दिएको थियो। त्यसपछि पनि छिमेकीसँग विवाद गरेर धम्की दिने गरेको आरोप पौडेलविरुद्ध लागेको छ।

शुक्रबार घरमा सशस्त्र प्रहरीका केही सादा पोशाकका कर्मचारी समेत ल्याएर आफूहरुको परिवारविरुद्ध कुटपिट गरेको छिमेकी कृष्णभक्त श्रेष्ठको आरोप छ। कुटपिटबाट श्रेष्ठ, उनकी पत्नी, जेठा छोरा किरण र कान्छा छोरा शरण घाइते भएका छन् ।

कुटपिट भएपछि श्रेष्ठ परिवारले नेपाल प्रहरीलाई खबर गरेको थियो । प्रहरीले उनीहरुलाई उद्दार गरेर भक्तपुर इन्टरनेश्नल अस्पताल, लोकन्थली भर्ना गरेको श्रेष्ठ बताउँछन् । अस्पतालमा उनीहरुको उपचार जारी छ ।

घटनापछि श्रेष्ठको परिवार जाहेरी दिन जिल्ला प्रहरी परिसर, भक्तपुर पुगेपनि प्रहरीले जाहेरी दर्ता गर्न नमानेको कानून व्यवसायी नवराज तिम्सिनाले बताए । उनले भने, ‘कुटपिट भएपछि उहाँले बोलाउनु भएको थियो, जाहेरी दिन जाँदा प्रहरीले आलटाल गर्यो ।’

पछि आफूहरुलाई ढिला गरी प्रहरी वृत्त, ठिमी पठाइएपनि जाहेरी दर्ता नगरी फर्काइदिएको उनले बताए ।

जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी प्रजित केसीले घटनाबारे दुवै पक्षबाट जानकारी आएको र विवाद समेत पुरानो भएकाले प्रहरीले बुझ्ने काम गरिरहेको बताए । ‘मैले डीएसपी सा’बलाई पनि बोलाएको छु, उहाँ आउनु भएपछि दुवै पक्षसँग कुरा गरेर निर्णय गर्छौं’, केसीले भने ।

डीएसपी पौडेलविरुद्ध सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा समेत पटकपटक उजुरी पर्ने गरेको छ । उनी लामो समयदेखि भक्तपुर र काभ्रेमा कार्यरत रहँदै आएका छन् ।

‘जग्गाको विवाद लगायतका घरायसी समस्या देखाएर उहाँ भक्तपुर र काभ्रेमा बस्दै आउनु भएको छ’, सशस्त्र प्रहरी बल प्रधान कार्यालयका एक अधिकृत भन्छन्, ‘उहाँविरुद्ध यहाँ पनि पटकपटक उजुरी पर्ने गरेको थियो ।’