धनुषा- धनुषाको एक पोखरीमा डुबेर जुम्ल्याहा बालकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२४ का अलिहसन अन्सारीका जुम्ल्याहा छोराहरु ९ वर्षीय मोहमद अल्कामा अन्सारी र मोहमद अब्दुल अन्सारीको मृत्यु भएको हो ।
हिजो साँझ वडा नं. २४ बसहियास्थित गोगल प्रसाद नमुना मावि अगाडिको पोखरीमा नुहाउने क्रममा दुवै बालकको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै बालकलाई पोखरीबाट निकाली उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा लगेपनि चिकित्सकले दुबैलाई मृत घोषणा गरेको थियो ।
घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषामा यस्ता पोखरीहरु बालबालिकाका लागि असुरक्षित रहेको स्थानीयहरुले बताएका छन् । २०७८ सालमा पनि धनुषाको मुखियापट्टी मुसहरनियाँमा ५ बालिकाको पोखरीमा डुबेर मृत्यु भएको थियो ।