काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी तथा कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
राती भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।
देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।