तिसौं वर्षदेखि पार्टीको सुप्रिमो बनिरहेका प्रचण्ड, पार्टीको स्थापना कालदेखि नै आफूमात्रै अध्यक्ष बनेर हालीमुहाली गरिरहेका उपेन्द्र यादव, पार्टीको अध्यक्ष बन्न नसकेपछि विक्षिप्त भएर अध्यक्ष बन्न पार्टी फुटाउने माधव नेपाल, क्रान्तिकारी कुरा गरेर दक्षिणपन्थीहरूको मनोबल बढाउने विप्लव, कम्न्युनिष्ट विचार र राजनीति पुरानो भयो भन्दै दक्षिणपन्थी बनेर राजनीतिमा रमाउन खोजेका डा. बाबुराम भट्टराई अनि विवेकविना सुर देखाउने वामदेव गौतमहरू मिलेर समाजवादी मोर्चा बनाउने हल्ला चलेको छ। अथवा अवसरवादीहरूको कुरूप रूपलाई समाजवादी मोर्चामा रूपान्तरण गर्ने प्रयास भइरहेको छ। हामीले बुझ्न सक्नुपर्छ, समाजवादी मोर्चा बनाउने अभियानको नभनिएको एउटै र अन्तिम लक्ष्य नेपालको वामपन्थी आन्दोलन बदनाम गराएर कमजोर बनाउने र देशमा बाह्य हस्तक्षेप बढाउने हो।
समाजवादी मोर्चा बनाउने प्रयासलाई लिएर पूर्व माओवादी नेता मुमाराम खनाल कान्तिपुरमा लेख्छन्, “मुलुकको राजनीतिमा बनाइएको अवसरवादको चौबाटो नै दलहरू बाँच्ने एक मात्र सुरक्षित बाटो हो भन्ने गलत बहसलाई पूर्णविराम दिनैपर्छ। विघटित नेकपा र त्यसको वरिपरि परिक्रमा गरिरहेका वामपन्थी उपग्रह र अन्य उल्का पिण्डहरूलाई समाजवादी ध्रुवीकरणको सैद्धान्तिक अमृतपान गराएर पुनः ब्युँताउने परिकल्पनाबाट ‘ खास वामपन्थीहरू जोगिनु पर्छ।” समाजवादी मोर्चाको परिकल्पना उपयोगितावादलाई नयाँ रूपमा प्रस्तुत गर्ने चाहाना हो। यो चाहानामा को को सहयोगी बन्लान अहिले नै भन्न नसकेतापनि माधव नेपालभने हतारिएका छन् किनभने अस्तित्व जोगाउन उनी संघर्षरत छन्।
उज्जैनको महाकालेश्वर हुँदै पशुपतिनाथ पुगेर प्रचण्ड पथबाट धर्मपथको यात्रा सुरू गरेका पुष्पकमल दाहाल, ईर्ष्याले जलेर चाउरिएका माधव नेपाल, मधेशवादबाट जातिवादमा रमाउन थालेका उपेन्द्र यादव, माओवादबाट दक्षिणपन्थी अवसरवादमा पादार्पर्ण गरेका डा. बाबुराम भट्टराई, एकिकृत जनक्रान्तिबाट थाकेका विप्लव अनि एकता अभियानको नाममा विभाजनमा रमाउने वामदेव गौतमहरूको संयुक्त यात्रा पशुपतिनाथको जात्रा सिद्राको व्यापार जस्तै हो। किनभने उनीहरूलाई समाजवादी मोर्चा बनाएर नेपालको वामपन्थी आन्दोलन कमजोर बनाउने जिम्मेवारी दक्षिण पश्चिमबाट प्राप्त भएको छ। त्यसैले वामपन्थी झुकाव राख्ने नेता तथा कार्यकर्ता अनि शुभेच्छुकहरू समाजवादी मोर्चावालाहरूले छरेको भ्रममा नपरी वामपन्थी आन्दोलन परिस्कृत र बलियो बनाउने अभियानमा जुट्नु पर्छ।
भागवत् गीतामा श्रीकृष्णले भनेका छन्,
गुण मिल्छ भने गुरू बनाउ
चित्त मिले चेला बनाउ
मन मिल्छ भने मित्र बनाउ
होइन भने एक्लै रमाउ
कृष्णले भागवत् गीतामा भने झैं वामपन्थी नेता तथा कार्यकर्ता अनि शुभेच्छुकहरूले यतिखेर गुरू अर्थात नेता चिन्न, चेला अर्थात कार्यकर्ता बन्न र मित्र अर्थात सहयात्री बनाउन जान्नुपर्छ अन्यथा सत्यको पक्षमा एक्लै उभिएर भएतापनि रमाउन सक्नुपर्छ। भ्रमित भिडको प्रभावमा परेर भावनात्मक रूपमा भड्किएर निष्कर्षमा पुग्नु हुँदैन्।
विगतमा हामी विवेक प्रयोग नगरी भावनात्मक रूपमा भड्किंदा लगभग ३० वर्षदेखि उपयोगितावादबाट हामी पीडित छौं। २०७९ सालदेखि त सस्तो लोकप्रियतावादबाट पनि पीडित हुँदैछौं। उपयोगितावादले लगभग ३ दशक दुःख दिइसक्यो। अब हामीलाई लोकप्रियतावादले कतिञ्जेल दुःख दिने होरु थाहा छैन्। त्यतिले पनि नपुगेर होला, उपयोगितावदले आफ्नो रूप फेरेर जनता झुक्याउन समाजवादी मोर्चा बनाउने प्रयास गर्दैछ। यो प्रयासलाई असफल बनाउन सकिएन भने एकातिर नेपालको वामपन्थी आन्दोलनले भारतको वामपन्थी आन्दोलनको नियति भोग्नु पर्नेछ भने अर्कातिर राष्ट्रिय स्वाभिमान कमजोर हुनेछ किनभने समाजवादी मोर्चा बनाउन कस्सिएका नेताहरूको नियत ठीक छैन्।
मान्नुस् या नमान्नुस्, उपयोगितावाद झैं लोकप्रियतावाद पनि देशको मुख्य समस्या बन्दैछ। बौद्धिक तथा प्राज्ञिक वर्ग भनिनेहरूको नागरिक समाजले तीस वर्षदेखि उपयोगितावादको वाहवाही गर्दा आजसम्म प्रचण्ड देशका लागि घाँडो भइरहेका छन्। हिजो उपयोगितावादको र आज लोकप्रियतावादको हाईहाई गरेर देशमा अराजकता र उदण्डता बढाउन सघाउने पात्रहरूले भोलिका दिनमा समाजवादी यात्रालाई फूलबुट्टा भर्न थालेभने अनौठो नमान्दा हुन्छ। किनभने उनीहरू पनि बाह्य लगानी बुझेर आफ्नो बौद्धिकता बेचेर घर चलाउने अभियानमा व्यस्त छन्।
राजनीति र यसको विचारधाराको ज्ञानले नागरिकहरूलाई राजनीतिक विचार र आशय बुझ्न मद्दत गर्दछ। यसले राजनीतिक दलहरू र दलका नेताहरूको राष्ट्रप्रतिको दृष्टिकोण पनि जान्न मद्दत गर्दछ। त्यसैले, नागरिकहरूलाई आफ्नो क्षमता विकास गर्न राजनीतिक साक्षरता र चेतना चाहिएको छ।” मतदान गर्ने नागरिक र मत लिने नेतृत्व दुबै पक्षको चरित्र सुधारियो भने मात्रै सम्वृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा पूरा गर्ने वातावरण बन्न सक्छ। यसका लागि औपचारिक र अनौपचारिक शिक्षागायतका माध्यमहरूबाट नागरिक र नेतृत्वको मनोविज्ञान ठीक बनाउने क्षमता विकासका गतिविधिहरूमा हामीले लगानी बढाउनु पर्छ। अनि मात्रै उपयोगितावाद र सस्तो लोकप्रियतावाद अनि दक्षिणपन्थी अवसरवादबाट नेपालको राजनीति जोगाउन सकिन्छ।