२७ बैशाख २०८३, आइतबार 1778449206
Banner

पोखरा विमानस्थलमा पहिलोपटक आज अन्तर्राष्ट्रिय उडान अवतरण गर्दै

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक आज अन्तर्राष्ट्रिय उडान हुने भएको छ। छिमेकी मुलुक चीनको छेन्दु–तियान्फु विमानस्थलबाट सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो।

सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाज बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले जानकारी दिए। ‘उडानका सबै तयार पूरा भइसकेको छ, यात्रुहरुको स्वागतका लागि संक्षिप्त कार्यक्रम राखिएको छ’, उनले भने।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले पहिलो अन्तर्राष्ट्रिय उडानबाट पोखरा ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको हो। उक्त जहाजबाट हाल चीन भ्रमणमा रहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आगामी शुक्रबार र शनिबार पोखरास्थित फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदै छन्।

जहाजबाट एक सय ३५ जना यात्रु पोखरा ओर्लने विमानस्थलका सूचना अधिकारी अधिकारीले बताए। उक्त जहाज बुधबार नै पोखराबाट काठमाडौँ अवतरण भई नियमित उडानमार्फत छेन्दु फर्कनेछ। पोखरामा उक्त जहाजको अर्को उडानबारे जानकारी आइनसकेको विमानस्थलले जनाएको छ। अङ्ग्रेजी नयाँ वर्ष पारेर गत पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको थियो। उक्त विमानस्थलबाट हाल आन्तरिक उडान मात्रै भइरहेको छ। रासस