२८ बैशाख २०८३, सोमबार 1778500008
Banner

निजी सैन्य कम्पनीले लिन थाल्यो रुसका सहर कब्जामा

काठमाडौं । रुसको निजी सैन्य कम्पनी वागनर समूहले दक्षिणी सहर रोस्तोव–अन–डनको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको छ।

बिबिसीका अनुसार वागनर समूहका प्रमुख येवगेनी प्रिगोजिनले शनिबार आफ्ना सैनिकले रूसकै सहर रोस्तोवको सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको हो ।
रूसका लागि हजारौंको संख्यामा युक्रेनसँग लडिरहेको वागनर समूह अहिले रुसकै विरूद्धमा उत्रिएको छ। प्रमुख प्रिगोजिनले रोस्तोव सहरका सैन्य क्षेत्रलाई नियन्त्रणमा लिएको सामाजिक सञ्जालमार्फत् दाबी गरेका हुन्।

वागनर समूह रूसकै निजी सैन्य संस्था हो।

उनले रक्षामन्त्री सर्गेइ शोइगु र जनरल वालेरी गेरासिमोवले आफूसँग नभेटेसम्म सहरमा नाकाबन्दी गर्ने र मस्कोतर्फ आफ्ना सैनिक बढ्ने बताएका छन्। उनले न्यायका लागि २५ हजार सेना मस्कोतर्फ लागेको दाबी गरेका छन्।

प्रिगोजिनले आफूलाई रोक्न खोज्ने जो–कोहीमाथि पनि आक्रमण गर्ने चेतावनी समेत दिएको बिबिसीले जनाएको छ। स्थानीय गभर्नरले नागरिकलाई घरभित्रै रहन भनेका छन्।

प्रिगोजिनले रूसी सैन्य प्रमुखको आलोचना गर्दै आएका थिए।

शुक्रबार भने आफ्ना सैनिकमाथि रूसी सैनिक प्रमुखले मिसाइल आक्रमण गरेको उनले आरोप लगाएका छन्। आफ्ना सैनिकमाथि आक्रमण गरेको भन्दै प्रिगोजिनले रूसी सैनिक प्रमुखलाई कारबाही गर्ने चेतावनी दिएका छन्।

Tags :